८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन अष्ट्रिया जाने

१२ वैशाख, काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी मे २६ देखि ३१ सम्म हुने अष्ट्रिया भ्रमणलाई स्वीकृत गरेको छ । उपराष्ट्रपति पुन जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रिया जान लाग्नुभएको हो । त्यहाँ उपराष्ट्रपतिको प्रतिनिधिमण्डलसहित भियानास्थित स्थायी नियोगबाट पनि चार नेपाली प्रतिनिधिले सहभागिता जनाउनेछन् ।

बैठकले कतारका लागि नेपाली राजदूत प्रा रमेशप्रसाद कोइरालालाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाअन्तर्गत बहाल विटौरी र आँकडा लगतबमोजिम बसोबास गरेका व्यक्ति वा परिवारका नाममा जग्गा दर्ता सम्बन्धित समिति गठन आदेश, २०७६ स्वीकृति गरिएको छ । साविकको दुर्गम क्षेत्र विकास समितिमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने बैठकले निर्णय गरेको छ । वातावरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र बिरुवा संरक्षण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्समक्ष पेश गर्न स्वीकृति दिएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं १ विराटनगरले खरीद गरी प्रदेशअन्तर्गतका स्थानीय तहलाई वितरण गर्ने ७० एम्बुलेन्स, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले खरीद गरी प्रदेशअन्तर्गतका अस्पताललाई वितरण गर्ने १० एम्बुलेन्स तथा सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढीले खरीद गरी प्रदेशअन्तर्गतका विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गर्ने १६ एम्बुलेन्स पैठारीका बखत एक प्रतिशत भन्सार महसुल लिइ बाँकी भन्सार महसुल छुट दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : 20:16