८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

प्रदेश ५ काे मन्त्रिपरिषद् निर्णयः बिदा थप्नेदेखि १ लाख राहत दिनेसम्म

१२ बैशाख, बुटवल । बिहीबार बसेको प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका दैविक विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ । बैठकले ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पौष मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरो लगायतका विपत्तिमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले दाङको राप्ती गाउँपालिका वडा नम्वर ७ बसन्तपुरमा अन्तरर्राष्ट्रियस्तरको रंगशाला बनाउने तथा दाङकै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीर सिंह रंगशालाको स्तररोन्नति गर्ने निर्णय गरेको पनि मन्त्री चौधरीले जानकारी दिए ।

यस्तै प्रदेश नम्बर ५ सरकारले ६ वटा नयाँ बिदाहरु तय गरेको छ । जसमा ४ वटा प्रदेशभर लागू हुने छ भने १ दिन स्थानीय तहले र अर्को १ दिन स्थानीय समुदायमा आधारित बिदा हुने चौधरीले बताए । निर्णयसँगै बकर ईदको अवसरमा १ दिन, माघे सक्रान्ती तथा माघीमा २ दिन र प्रदेश स्थापना दिवसमा १ दिन गरी ४ दिन प्रदेशभर बिदा हुनेछ ।

साथै अन्य २ दिनमा भने स्थानीय पर्वको लागि स्थानीय तह आफैले बिदा गर्न सक्ने निर्णय गरिएको छ । उनले भने, ‘यो १ दिन भनेको पाल्पाको भगवती जात्रा लगायतलाई मध्य नजर गरी तयार पारिएको हो । यो दिनमा पाल्पाका स्थानीय तहले निर्णय गरेर बिदा लिन र दिन सक्नेछन् ।’

अर्को १ दिनको बिदा समुदायमा आधारित बिदा रहेको बताउँदै प्रदेश चौधरीले अतहरी, भूमिया पुजा लगायतका दिनमा सो पर्व मनाउने कर्मचारीहरुले बिदा लिन सक्नेगरी यो बिदाको परिकल्पना गरिएको बताए ।

प्रकाशित मिति : 18:46