राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको दोस्रो दिनः ता सियान बौद्ध विहारको अवलोकन
१२ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध विहारको अवलोकन गरेकी छिन । राष्ट्रपति भण्डारी विहार परिसरमा पुग्दा त्यहाँका प्रमुख चेन किङले स्वागत गरेका थिए । साथै विहारका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विहारको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन । विहार अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी रहेका थिए ।

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक विहार हो । यो शहरबाट करिब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान विहारले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्दै अाएको छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।
प्रकाशित मिति : 13:00









