९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

गोर्खाली सैनिकको वीरताले विश्वसामु नेपालको प्रतिष्ठा बढाएकाे छः उपप्रधानमन्त्री पोखरेल

११ वैशाख, पोखरा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखिको गोर्खाली सैनिकको वीरता र इमान्दारिताको कारण विश्वसामु नेपालको प्रतिष्ठा उच्च भएको बताएका छन् ।

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ नेपालको पाँचौ वीर गोरखा दिवसमा आज पोखरामा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेल सो धारणा व्यक्त गरेका हुन् । वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपप्रधानमन्त्री पोखरेलले भने,“वीर गोर्खालीले आर्जन गरेका ख्यातिका कारण आज पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वको चौध ठाउँमा शान्ति स्थापनाका लागि नेपालले काम गर्दै आइरहेको छ ।”

उपप्रधानमन्त्री पोखरेलले भूतपूर्व सैनिक र सुरक्षाकर्मीको ठूलो जनशक्तिलाई राष्ट्र र समाजको निर्माणको अभियानमा लगाउनुपर्ने उल्लेख गरे । रक्षामन्त्रीसमेत रहेका पोखरेलले सेवानिवृत सैनिक र सुरक्षाकर्मीले हासिल गरेको ज्ञान, सीप र प्रविधिलाई सदुपयोग गरी मुलुकमा आर्थिक रुपान्तरण कसरी गर्ने सकिन्छ भन्ने विषयमा ठोस् योजनासहित कार्य गर्नुपर्ने देखिएको बताए ।पोखरेलले सरकारको एक वर्षको अवधि जग निर्माणमा सम्पन्न भएको र नयाँ वर्षमा नीति तथा कार्यक्रममार्फत जनताबीच ठोस् कार्यक्रम ल्याउने उल्लेख गरे । मित्र राष्ट्रमा सैनिक र सुरक्षाकर्मीको रुपमा कार्य गर्ने नेपालीको अभिलेख राख्नुपर्ने माग उचित रहेको र यस विषयमा परामर्श गरेर सरकारले ठोस् निर्णय लिने उल्लेख गरे ।

सेवानिवृत गोर्खाली सैनिकको पेन्सन रकम मुलुकको विकासका लागि एउटै बास्केटमा राख्न चाँहेको जानकारी प्राप्त भएकोमा खुशी प्रकट गर्दै उपप्रधानमन्त्री पोखरेलले सो रकमबाट मुलुकको समृद्धि र राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नमा महत्वपूर्ण भूमिका हुने विश्वास प्रकट गरे । नेकपा कास्कीका जिल्ला अध्यक्ष एवं प्रदेश सभासदस्य कृष्ण थापाले विश्व समक्ष इमान, जवान र स्वाभिमानको पहिचान बनाएका गोर्खाली संसारमा नेपालको गौरव बढाएको बताए ।

सो महासङ्घका अध्यक्ष पूर्व कर्नेल धर्मबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सङ्घीय समाजवादी फोरम, कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ, सो महासभाका सहध्यक्ष डा लक्ष्मी पाण्डेलगायतले गोर्खालीले खेलेको भूमिकालगायतका विषयमा आ–आफ्ना धारणा प्रकट गरेका थिए । सोही अवसरमा रक्षामन्त्री पोखरेल गोर्खाली सैनिकका परिवारलाई सम्मान गर्नुका साथै सो महासङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे । उक्त कार्यक्रमा भूतपूर्व गोर्खालीका विभिन्न संस्थाले विभिन्न प्रकारका झाँकी प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : April 24, 2019 at 8:33 pm