८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्छाैँः प्रधानमन्त्री ओली

११ वैशाख, काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका छन् । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको १२ कक्षाकोठा रहेका तीन भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशीले माग गर्ने गरी विज्ञ, चिकित्सक, इञ्जिनीयर र शिक्षक तयार पार्नेतर्फ लाग्ने बताए ।

प्रधानमन्त्री ओलीले ‘डिजिटल नेपाल, शिक्षित नेपाली र विद्वान् बस्ने नेपाल’ बनाइने बताउँदै भने,“खनिज, पर्याप्त स्रोत भएको उर्वर हाम्रो मुलुकका जनता अनपढ र गरीबको कल्पना गर्न पनि सक्दैनौँ, यस विषयलाई अब केही वर्षमै इतिहास बनाउनेछौँ ।” उनले शिक्षकमा गुणस्तर भए विद्यार्थी पनि गुणस्तरीय उत्पादित हुन्छ, सूचना प्रविधिको युगमा आत्मनिर्भरतामुखी शिक्षाको खाँचो आवश्यकता भइसक्यो ।’

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई शैक्षिक विद्वान्हरुले सामुदायिक विद्यालयको शिक्षा अङ्गे्रजीकरण गर्न सुझाव दिइरहेकाले यसतर्फ सोचिएको बताए । उनले भने, “बलिया र राम्रा भवन बनायौँ, अव गुणस्तरका लागि नीतिगत सुधारको प्रक्रिया अघि बढ्छ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सात हजार ९२३ विद्यालयमध्ये तीन हजार ५८३ वटाको पुनःनिर्माण सकिएको जानकारी दिँदै पुनःनिर्माण भएका राम्रा र बलिया विद्यालयमा बालबालिका खुशीसाथ अध्ययन गरेको पाइएकामा खुशी व्यक्त गरे ।

एडिबीका देशीय निर्देशक मुख्तार खामुद खानोबले निर्धारित समयमै गुणस्तरीय विद्यालय भवन निर्माण भएकामा खुशी व्यक्त गरे । उनले भने, “नेपालको पुनःनिर्माणमा हाम्रो सहयोगको सदुपयोग राम्रो भएको पाएका छौँ, हामी निकै खुशी भएका छौँ ।”

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जूले सीमित सिटमा अध्ययनअध्यापन गराउनुपर्ने सञ्जीवनी माविको जस्तै शिक्षा प्रदान गर्न अन्य विद्यालयलाई आग्रह गरे ।

सोही अवसरमा सम्झौतानुसार निर्माण सम्पन्न एडिबीको ऋण तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण भएको खोपासी–ढुङ्खर्क–च्याम्राङबेंसी–मिल्चे–बोराङ १५ दशमलव ५५ किमी सडक तथा तेलकोट–नगरकोट–भट्टेडाँडा सात दशमलव ७७ किमी सडकको प्रदेश नं ३ स्थित पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : 18:01