राष्ट्रपति भण्डारी चीन प्रस्थान, यस्ताे छ कार्यतालिका
११ वैशाख, काठमाडौँ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् । दोस्रो पटक बेइजिङमा आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बेइजिङ प्रस्थान गरेकी हुन् ।

वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे राष्ट्रपति भण्डारी नेपाल सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति भण्डारी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौँ फर्किने कार्यक्रम रहेकाे छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
यस्तो छ विस्तृत कार्यतालिका
१२ वैशाखः ११ वैशाखमा मध्य चीनको सान्सी प्रान्तको राजधानी सियान उत्रने राष्ट्रपतिको भ्रमण दलको कार्यक्रम छ। १२ वैशाखमा राष्ट्रपति भण्डारीसँग सान्सी प्रान्तका नेताहरुले भेटघाट गर्नेछन्। दिउँसो सियान शहरको भ्रमण गर्ने कार्यक्रम छ। १२ गते साँझ साढे सात बजे भण्डारी बेइजिङ उड्ने कार्यक्रम छ।
१३ वैशाखः बेइजिङस्थित राष्ट्रिय सम्मेलन केन्द्रमा चीनका राष्ट्रपति सीले बीआरआईको दोस्रो शीखर सम्मेलनको उद्घाटन बिहान साढे ९ बजे गर्नेछन। ११ बजेपछि सोही हलमा उच्चस्तरीय बैठक हुनेछ। साँझ राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ राष्ट्रपति सीले ग्रेट हल अफ दि पिपुलमा रात्रीभोज आयोजना गरेका छन्।
१४ वैशाखः राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजेबाट बीआरआई सम्मेलनमा सहभागी हुने पाहुनाका लागि ‘वेलकम सेरोमोनी’ हुनेछ। साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सत्रमा कनेक्टिभिटिले ल्याउने आर्थिक वृृद्धिका नयाँ स्रोतहरूबारे छलफल हुनेछ। लगत्तै समूहमा फोटो खिचाएपछि अतिथिहरुका लागि ककटेल रिसेप्सन आयोजना गरिएको छ। अपरान्ह ३ः१५ देखि साँझ पौने ६ बजेसम्म तेस्रो सत्रमा सहभागी भएपछि राष्ट्रपति भण्डारी नेपाली दूतवासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछिन्।
१५ वैशाखः बेइजिङको चाओयाङमा बिहान उद्योग तथ व्यापार सम्बन्धी बैठकमा सहभागी भएपछि राष्ट्रपति भण्डारी दिउँसो भ्रमणमा निस्कनेछिन्। उनले भ्रमण गर्ने ठाउँहरु निर्धारण हुन बाँकी नै छ। साँझ ६ बजे अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी र त्यहाँ नेपालले बनाएको लुम्बिनी पीस गार्डेनमा सहभागी भएलगत्तै होटल फर्केर डिनर गर्ने कार्यक्रम छ।
१७ वैशाखः बिहान साढे ६ बजे राष्ट्रपति भण्डारीको टोली चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्ने भ्रमणतालिकामा उल्लेख छ। दिउँसो ल्हासा भ्रमण गरेपछि राष्ट्रपति भण्डारीसँग साँझ तिब्बतका नेताहरुले दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ।
१८ वैशाखः बिहान ल्हासस्थित नेपाली महावाणिज्य दूतवासले राखेको स्वागत कार्यक्रममा सहभागी भएपछि राष्ट्रपति भण्डारीले दिउँसो टिबेट अटोनोमस डिस्ट्रिक (टीबीसी) को भ्रमण गर्ने कार्यसूची छ।
१९ वैशाखः बिहान ११ः५० बजे राष्ट्रपति भण्डारीले नेतृत्व गरेको नेपाली टोली काठमाडौं प्रस्थान गर्नेछ।

प्रकाशित मिति : 11:44









