८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

कांग्रेसका धेरै नेताहरुले राजतन्त्र फर्काउने सपना देखेको सुन्दा अचम्म लाग्छः प्रधानमन्त्री ओली

९ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । आज यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनताको अधिकार र समृद्धिप्रतिको चाहनालाई सम्बोधन गर्दै अगाडि बढ्ने उद्घोष गर्नुभयो ।

सामाजिक न्याय, जनतन्त्र र जनअधिकार, राष्ट्रियताको जगेर्ना र सार्वभौमसत्ताको रक्षाका लागि स्थापना भएको कम्युनिस्ट पार्टीले विगतमा उठाउँदै आएका जनअधिकारलाई संस्थागत गर्ने स्थानमा आइपुगेको अध्यक्षद्वयले उल्लेख गर्नुभयो । लामो समयपछि राजनीतिक स्थिरतासहितको करिब दुई तिहाइ बहूमतको सरकार गठन भएको छ । यस सन्दर्भमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भवितव्यका आधारमा दुई ठूला कम्युनिस्ट पार्टीको एकता नभएको स्पष्ट पार्दै नेपाली जनताको चाहना र इच्छालाई एकीकृत गर्दै विगतमा देखेको सपना पूरा गर्न लागिपरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७० औं वार्षिकोत्सवको अवसरमा सोमवार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सहभागी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल …प्रचण्ड’लगायतका शीर्ष नेताहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस, काठमाडौँ ।

उहाँले नेपाली जनताले विगतदेखि उठाउँदै आएको न्याय, समानता, सामाजिक सद्भाव र न्याय, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारलाई संस्थागत गर्न सफल भएको बताउनुभयो । उहाँले वस्तुगत यथार्थ तथा आवश्यकतालाई ख्याल गरेर तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा बनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले स्थापनाकालदेखि नै पार्टीले आर्थिक उन्नतिका विषय अङ्गीकार गरेपनि विभिन्न स्वार्थका कारण विभाजन र टुट्फुट हुँदै आएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।

टुट्फुटको शृङ्खलाबाट अगाडि बढेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन गरिएको प्रयास सार्थक र सफल भएको उहाँको भनाइ थियो । उहाँले पार्टीले जनताको जनवादलाई अङ्गीकार गरेको स्पष्ट पार्दै भन्नुभयो, “यो राजनीतिक अधिकारसँगमात्रै सीमित छैन, यो पूर्ण लोकतन्त्र हो । यो पूर्णरुपमा जनतालाई अधिकार सम्पन्न बनाउने विषय हो ।”

प्रधानमन्त्रीले राष्ट्रियताका पक्षमा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै राष्ट्रिय एकताका पक्षधरलाई मजबुत बनाउन विभिन्न समूहलाई मूलधारमा ल्याएको र पृथकतावाद समाप्त भएको उल्लेख गर्नुभयो । “केही मान्छे छिद्र खोजेर बसेका थिए, त्यो छिद्रसमेत समाप्त भएको छ । सरकारले पृथकतावादको वकालत गर्दै आएको समूहलाई संविधानको मूलधारमा ल्याएको छ । देशमा कुनै पनि प्रकारको दण्डहीनता र अराजकतालाई स्थान दिइँदैन”, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका केही नेता जन्मसिद्ध श्रेष्ठताका आधारमा शासक बनाउन सकिन्छ कि भन्ने मानसिकतामा लागेको भन्दै त्यसले उसैलाई समेत फाइदा नगर्ने स्पष्ट पार्नुभयो । काङ्ग्रेसले विगतदेखि नै प्रगतिशील शक्तिका विरुद्ध प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति लिएको भन्दै उहाँले त्यस्तो विरासतबाट पाठ सिकेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

“म चाहन्छु अब काङ्ग्रेसले अहिलेसम्मको अवस्थाबाट पाठ सिक्नुपर्छ । यदि काँग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग नै एकता गर्नुपर्छ”–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “काङ्ग्रेसका धेरै नेताहरुले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ, कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त सही हो भनेर निवेदन हाल्दैन । जन्मसिद्ध श्रेष्ठता पशु र जीवमा हुन्छ तर मान्छे मान्छेका बीचमा जन्मँदै कोही ठूलो शासक र रैती जन्मने हुँदैन ।”

प्रधानमन्त्रीले विगत एक वर्षको बीचमा पार्टी एकताका केही विषय बाँकी रहे पनि आइतबार आफूहरुले मूलभूतरुपमा एकता प्रक्रिया टुङ्गो लगाएको र बाँकी कामसमेत एकाध दिनभित्रै सकिने जानकारी दिनुभयो । सोही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष दाहालले एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरेसरह भएको भन्दै बाँकी रहेको कामसमेत केही समयभित्रै टुङ्गो लगाइने बताउनुभयो । सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले एकता प्रक्रियामा ढिलाइ भएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “एकता प्रक्रियाले पूर्णता पाएको छ । शुभचिन्तकको दबाबले पनि यस प्रक्रियालाई सहयोग पु¥याएको थियो ।”

उहाँले नेकपाले समाजवादको रणनीतिमा अघि बढ्ने योजना हामीले अघि सारेको र त्यो आफैँमा युगान्तकारी प्रयोग भएको स्पष्ट पार्नुभयो । विगतको बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव नभएको र जरुरी पर्दा मात्रावाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न नसक्ने उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सहभागी नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली अभिवादन गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।

एकताको सङ्कल्प गरेपछि पनि एकता टिक्दैन भन्दै विभिन्न आशङ्का पैदा गर्ने काम भएको भन्दै अध्यक्ष दाहालले एकता रोक्न आन्तरिक र बाह्य रुपमा पनि अनगिन्ती प्रयास भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले जनतामा गरेको प्रतिबद्धताअनुसार एकता घोषणा गरेरै छाड्यौँ । हामीले भने अनुसारको गतिमा एकता नटुङ्गिदा फेरि प्रश्न उठे । त्यसलाई पनि हामीले सम्बोधन गरेका छौँ ।”

वैचारिक, राजनीतिक र साङ्गठनिकरुपमा पार्टीलाई आक्रामक बनाउने प्रयास गरेकामा जोड दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “हामीले चलाएको वैचारिक सङ्घर्ष र बहसले देशभित्र र बाहिर पनि पार्टी एक आक्रामक मोर्चाका रुपमा रहेको छ । संसारका न्यायप्रेमी र कम्युनिष्टले चासो र गहिरो अध्ययन गरिरहेको अवस्था छ ।” देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिले नेपालको कम्युनिष्ट आन्दोलन एकता र आक्रामक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरेकोसमेत उहाँको भनाइ थियो । रासस

प्रकाशित मिति : 19:53