२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

१८ चैत, काठमाडौं । शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो ।

सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ ।

विकासका नाममा काठमाडौँ उपत्यकाका जनतालाई विस्थापित गर्ने किसिमबाट सरकारले ल्याएका योजनामा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट दबाब सिर्जना गर्ने, नेपालमा बोलिने सबै भाषालाई नेपाली भाषा नै भन्ने, नेवाः वाङ्मयलाई अन्तर्रा्ष्ट्रियकरण गर्दै लैजाने विषयहरु घोषणापत्रमा समावेश छ ।

सम्मेलनको समापन गर्दै वल्र्ड नेवाः अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको आउँदो तेश्रो वार्षिक साधारणसभा र तेश्रो विश्व नेवाः सम्मेलन काठमाडौं उपत्यकामै गर्ने घोषणा पनि गरे ।

सम्मेलनको अन्तिम दिन शनिबार सडक विस्तारका नाममा स्थानीय जनतालाई विस्थापित गर्ने र काठमाडौं उपत्यकाको जीवन्त कला, पर्व, संस्कृति र सम्पदा मास्ने ढंगले भइआएका कामको विषयमा ‘हाम्रो थातथलो हाम्रो सरोकार’ विषयमा प्यानल डिस्कसन भएको थियो ।

शुक्रबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः परम्पराअनुसार पानसमा बत्ती बाली सम्मेलनको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा नेवाः आन्दोलनका अगुवाहरु शताब्दी पुरुष जोशी, पद्मरत्न तुलाधर र माणिकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । सम्मेलनमा विभिन्न १७ मुलुकमा रहेका नेवाः समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : April 1, 2018 at 12:18 pm