२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

विश्व भलिबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ

१३ चैत, काठमाडौँ । क्रोएशियामा आयोजना हुने १५ वर्षमुनिका इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) विश्व स्कुल छात्रा भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।

नेपाल स्कुल स्पोर्टस् फेडेरेसनद्वारा आयोजित एक कार्यक्रममा नौ खेलाडीसहित १४ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाल विद्यालय खेलकूद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलगायतले बिदाइ गर्नुभयो । क्रोएशियाको पारेसमा हुने उक्त प्रतियोगिता यही चैत १६ देखि २१ गतेसम्म हुनेछ ।

नेपाली टोलीमा न्यू डायमण्ड एकेडेमीका खेलाडी समावेश छन् । जसमा सजिना श्रेष्ठ (कप्तान) सहित सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ, रिया कुवँर, प्रेक्षा राई र सुनिता खड्का छिन् ।

त्यसैगरी टोलीको अन्य सदस्यमा हेड अफ डेलिगेसन राजकुमार कार्की, प्रशिक्षक कुमार राई, स्कुल शिक्षक सुनकेशरी माली, रेफ्री चन्द्रा बदना राई र स्कुल डाइरेक्टर मोहनकुमार कार्की छन् । आइएसएफले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग सहकार्य गरेर उक्त च्याम्पियनसिपमा पहिलोपटक नेपाली टोलीको सहभागिता पक्का गरेको हो ।

उक्त प्रतियोगितामा नेपालसहित, बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपे, क्रोयशिया, फ्रान्स, इस्टोनिया, हङ्गेरी, मेसिडोनिया, नेदरल्याण्ड, स्पेन, युक्रेनलगायत २२ राष्ट्रको सहभागिता रहने आयोजकको भनाइ छ । नेपाली टोली यही चैत १५ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार २१:००