१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

१३ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै भित्रिएको ७ किलो गाँजासहित विमानस्थलमा शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार शनिबार थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएको बीजी–३७१ नम्बरको उडानमार्फत आएका एक भारतीय नागरिक र सोही उडानमा बंगलादेशबाट आएका दुई नेपालीलाई शंकास्पद गतिविधि गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित गोरखपुरका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेङ गाउँपालिका–३ का २८ वर्षीय सन्देश सुनार रहेका छन् । उनीहरूको साथमा रहेको झोला जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीज बिस्कुटको बट्टाभित्र लुकाएर राखिएको सात किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट सात किलो गाँजा, तीन थान राहदानी र तीन थान मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : November 29, 2026 at 2:21 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/