१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

सरकारसँग भएका सहमति कार्यान्वयन नभए फेरि आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

https://www.muktinathbank.com.np/online/loan-application

१३ मंसिर, काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै कडा तथा निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। आइतबार महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा सरकारले वार्तामा सहमति जनाउने तर कार्यान्वयनमा राज्य जिम्मेवार र इमानदार नहुँदा शिक्षक–कर्मचारी लामो समयदेखि उही माग र पीडामा अल्झिनुपरेको उल्लेख गरिएको छ।

महासंघले शिक्षक तथा कर्मचारीका समस्या समाधान, निवृत्तिभरणको व्यवस्था, दुर्गम भत्ता, विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकको दरबन्दी सिर्जनालगायतका विषय तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान हुँदै गएको र गुणस्तरीय सार्वजनिक शिक्षाको दिशामा लामो फड्को मार्न सक्ने अवस्था बनेको भए पनि शिक्षक आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयनमा राज्य गम्भीर नदेखिएको आरोप लगाएको छ।

शिक्षक–कर्मचारीसँग सहमति गर्ने तर त्यसको कार्यान्वयनमा उदासीन हुने प्रवृत्तिका कारण आफूहरू लामो समयदेखि पीडित बन्नुपरेको महासंघको भनाइ छ। वर्तमान सरकारले समेत शिक्षक–कर्मचारीका विषयमा संवेदनशीलता नदेखाएको भन्दै महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : November 29, 2026 at 2:08 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/