पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि छानिए ११ उम्मेदवार
११ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम सम्पन्न रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रियाबाट सुरुमा १६ उम्मेदवार छानिएको थियो । ती १६ मध्येबाट पर्यटन क्षेत्रका विभिन्न समस्या समाधान परीक्षणका आधारमा उच्च अंक प्राप्त गर्ने ११ जनाको सूची तयार पारिएको हो ।

छनोट भएका ११ उम्मेदवारहरुमा चितवनका आशुतोष प्रधान, चितवनकै उत्तम प्रसाद देवकोटा, इलामका टेक बहादुर महत, मोरङका नोजल कोइराला, काठमाडौंकी युविका भण्डारी, भक्तपुरका रोहिणीप्रसाद खनाल, दाङका लक्ष्मण गौतम, ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, रुपन्देहीका श्री प्रसाद भट्टराई, बैतडीका सुरेश सिंह बुडाल र कन्चनपुरका हिक्मतसिंह रहेका छन् ।
यसअघि गत कात्तिक २० गते सार्वजनिक १६ जनाको सूचीमा रहेका चितवनका धर्मराज दवाडी, काठमाडौंका राजाराम के.सी., गोरखाका राम चन्द्र सेढाइ, पाल्पाका विनोद अर्याल, काठमाडौंका सन्तोष विक्रम थापा भने ११ जनामा परेनन् ।
प्रकाशित मिति : November 29, 2026 at 11:44 am














