५ रूपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउँदै राष्ट्र बैंक
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रूपैयाँ दरका १५ करोड थान नयाँ सिक्का चलनचल्तीमा ल्याउने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले यी सिक्काहरूको डिजाइन, टकमरी (ढलाइ), आपूर्ति तथा ढुवानीका लागि योग्य अन्तर्राष्ट्रिय कम्पनीहरूसँग शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार यसअघि नै पूर्व-योग्य ठहरिएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले मात्र यस प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । यो खरिद प्रक्रिया ‘सिंगल स्टेज टु एनभलप’ विधिमार्फत सञ्चालन गरिनेछ, जसमा प्राविधिक र वित्तीय प्रस्तावहरू छुट्टाछुट्टै खाममा राखी एकैसाथ पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
इच्छुक योग्य कम्पनीहरूले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टकमरी महाशाखाबाट २० हजार रुपैयाँ (वा १३२ अमेरिकी डलर/११८ युरो) गैर-फिर्ता शुल्क तिरेर आगामी डिसेम्बर २८ तारिखसम्म बोलपत्र कागजात खरिद गर्न सक्नेछन् । बोलपत्र प्रक्रियाबारे जानकारी दिन राष्ट्र बैंकले डिसेम्बर ११ मा थापाथलीस्थित कार्यालयमा पूर्वबोलपत्र बैठक आयोजना गर्ने जनाएको छ। प्रतिस्पर्धामा सहभागी हुने कम्पनीहरूले डिसेम्बर २९ तारिखको दिउँसो १२:०० बजेभित्र आफ्ना शिलबन्दी प्रस्तावहरू दर्ता गरिसक्नुपर्नेछ भने प्राप्त प्रस्तावहरू सोही दिन दिउँसो १:०० बजे खोलिनेछ ।
प्रतिस्पर्धामा सहभागी हुने कम्पनीले कम्तीमा एक लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँमा बैंक धरौटी पेस गर्नुपर्नेछ। यस्तो धरौटी बोलपत्र पेस गरेको मितिबाट १५० दिनसम्म मान्य हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : November 29, 2026 at 10:26 am














