आजदेखि मुग्लिन नारायणगढ सडकमा दैनिक ५ घण्टा आवागमन बन्द
१३ मंसिर, काठमाडौं । आजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडकमा आवागमन बन्द गरेको हो ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ। पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक डिभिजन कार्यालय भरतपुरले दीर्घकालीन समाधानका लागि विशेष प्रविधि प्रयोग गरी रोकथामको काम अघि बढाउन लागेको हो। पछिल्लो समय वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्न थालेपछि सडक सुरक्षाका लागि दीर्घकालीन उपाय अपनाउन लागिएको कार्यालयले जनाएको छ। काठमाडौँ हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट काठमाडौँ फर्किने सवारीसाधन भने सञ्चालन हुनेछन् ।
प्रकाशित मिति : November 29, 2026 at 9:49 am














