आरएसडीसी लघुवित्तले घोषणा गर्यो लाभांश
७ मंसिर, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर ६ गते आइतबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १९३ औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कर प्रयोजनार्थ समेत गरी चुक्तापूँजीको ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित नगद लाभांशको कुल रकम ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा रहेको छ। हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँ रहेको छ भने अधिकृत पूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। कम्पनीले यसपटक बोनस सेयर तथा हकप्रद सेयर वितरण नगर्ने निर्णय गरेको छ।
यसैबीच कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा आगामी पुस ३ गते बुटवलमा आयोजना गर्ने निर्णय गरेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने भएकाे छ। यसकाे अर्थ मंसिर १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : November 23, 2026 at 12:52 pm













