६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको भन्दै सरकारप्रति कांग्रेसको असन्तुष्टि

https://www.muktinathbank.com.np/online/loan-application

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षसहित राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै नेपाली कांग्रेसले सरकारप्रति असन्तुष्टि जनाएको छ।

प्रधानमन्त्री शाह मंसिर ६ गतेदेखि भारत भ्रमणमा जान लागेका बेला कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वको विदेश भ्रमणअघि साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई सरकारले निरन्तरता नदिएको बताएका हुन्।

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना भने दिएको छ। तर, भ्रमणअघि राष्ट्रिय हितका विषयमा प्रमुख प्रतिपक्षलगायत राजनीतिक दलसँग परामर्श गर्ने परम्परालाई सरकारले बेवास्ता गरेको उसको आरोप छ।

शर्माका अनुसार कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो। त्यसकै लागि गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरिएको थियो।

उक्त विमर्शमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा छलफल गरिएको कांग्रेसले जनाएको छ।

तर सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल तथा विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको शर्माको आरोप छ। सरकारबाट औपचारिक रूपमा सुझाव नमागिएपछि कांग्रेसले पनि आफूखुसी औपचारिक सुझाव अघि सार्न उचित नठानेको उनले बताएका छन्।

‘प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र होइन, सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै हुनुहुन्छ,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ।’

कांग्रेसले सरकारको यो कमजोरीलाई प्रधानमन्त्रीको भारत भ्रमणको सम्भावित विषयवस्तुसँग भने जोडेर नहेर्ने स्पष्ट पारेको छ। सरकारसँग विभिन्न विषयमा असहमति भए पनि नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको शर्माले बताएका छन्।

कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमण क्षणिक लोकप्रियता वा तात्कालिक प्रचारमा सीमित हुन नहुनेमा पनि जोड दिएको छ। विगतका प्रतिबद्धताको कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्ने उसको अपेक्षा छ।

भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य वा घोषणाबाट नभई त्यसबाट नेपाल र नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामबाट मापन हुनुपर्ने कांग्रेसको धारणा छ।

कांग्रेसले प्रधानमन्त्री शाहको भारत भ्रमण पूर्ण सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी बन्नुपर्ने जनाएको छ।

प्रकाशित मिति : November 21, 2026 at 2:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/