एनआईसी एसिया बैंकद्वारा बर्दिया र धनुषाका तीन विद्यालय र एक अस्पताललाई सहयोग
४ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन सामुदायिक विद्यालय र एक अस्पताललाई विभिन्न सामग्री तथा उपकरण सहयोग गरेको छ । बैंकले बर्दियाको मधुवन नगरपालिका–६, सानोश्रीस्थित मधुवन नगर अस्पताललाई स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराएको छ। त्यस्तै, बर्दियाकै मधुवन नगरपालिका–८, दुर्गापुरस्थित श्री शिवदुर्गा माध्यमिक विद्यालय, बारबर्दिया नगरपालिका–९, बनगाईस्थित श्री जनज्योति माध्यमिक विद्यालय र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवा बजारलाई पानी शुद्धीकरण प्लान्ट उपलब्ध गराएको छ ।
दैनिक ८० भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको मधुवन नगर अस्पताललाई बैंकले मंसिर ३ गते विशेष कार्यक्रम आयोजना गरी स्वास्थ्य उपचारका उपकरण तथा सामग्री हस्तान्तरण गरेको हो । बैंकका नेपालगञ्ज सर्कल प्रमुख जीवन शाही र नेपालगञ्ज शाखा प्रमुख मिनराज ज्ञवालीले संयुक्त रूपमा अस्पतालका प्रमुख डा। कुलदीप कुमार यादवलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सोही दिन बैंकले शिवदुर्गा माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालयमा पानी शुद्धीकरण प्लान्ट जडान गरी हस्तान्तरण गरेको छ । शिवदुर्गा माध्यमिक विद्यालयमा ४१७ भन्दा बढी र जनज्योति माध्यमिक विद्यालयमा ४३४ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
दुवै विद्यालयलाई बैंकका नेपालगञ्ज सर्कल प्रमुख शाही र नेपालगञ्ज शाखा प्रमुख ज्ञवालीले संयुक्त रूपमा पानी शुद्धीकरण प्लान्ट हस्तान्तरण गरेका हुन्। यसैगरी, धनुषाको श्री राष्ट्रिय माध्यमिक विद्यालय, सखुवा बजारमा मंसिर २ गते विशेष कार्यक्रम आयोजना गरी पानी शुद्धीकरण प्लान्ट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
हाल ६२० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बैंकका जनकपुर सर्कल प्रमुख उत्सुकराज श्रेष्ठ र धनुषा शाखा प्रमुख प्रेमबहादुर श्रेष्ठले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठ र प्रधानाध्यापक सन्तोषकुमार यादवलाई प्लान्ट हस्तान्तरण गरेका थिए । बैंकले उपलब्ध गराएको सहयोगबाट विद्यालयका विद्यार्थीलाई स्वच्छ खानेपानीको पहुँच पुग्नुका साथै पठनपाठनमा सहजता आउने र अस्पतालमा बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।
प्रकाशित मिति : November 20, 2026 at 3:56 pm













