२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

सेनाले बुबाको हत्या गरेपछि टुहुरो बनेका प्रेमको संघर्ष र सफलताको कथा

२३ कात्तिक, काठमाडौँ । जीवनको सुरुवात कहाँबाट भयो भन्नेभन्दा गन्तव्यको सपना कति ठूलो थियो र त्यसका लागि कति संघर्ष गरियो भन्ने कुरा महत्वपूर्ण हुन्छ । जाजरकोटका प्रेम बुढामगरको जीवनयात्राले यही भनाइलाई चरितार्थ गरेको छ।

कुनै समय गाडीको सहचालक अर्थात् ‘खलासी’का रूपमा जीवन सुरु गरेका बुढा अहिले नेपाल सरकारको शाखा अधिकृत पदमा नाम निकाल्न सफल भएका छन् । उनको यो सफलता एउटा सरकारी जागिरमा प्रवेशको कथा होइन, अभाव, पारिवारिक विछोड, सामाजिक अपमान र निरन्तर संघर्षलाई चिर्दै अघि बढेको एउटा संघर्षशील युवाको कथा हो ।

बुढाले आफ्नो सफलतापछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनको यात्रा कहाँबाट सुरु हुन्छ भन्ने कुरा महत्त्वपूर्ण होइन, कहाँ पुग्ने सपना देखिन्छ र त्यसका लागि कति संघर्ष गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेछ।’

उनको जीवनको सुरुवाती दिन सहज थिएनन् । उनी सानै छँदा उनका बुबाको हत्या भयो । तत्कालीन द्वन्द्वका क्रममा निर्दोष व्यक्तिलाई माओवादीको आरोप लगाउँदै शाही सेनाले हत्या गरेको उनका बाल्यकालका शिक्षक डिल्लीराम बिसीले उल्लेख गरेका छन् ।

बुबाको हत्यापछि परिवार लथालिङ्ग भयो। प्रेम र उनकी बहिनी सानै उमेरमा टुहुरा बने । त्यसपछि आमाले पनि बाध्यतावश दोस्रो विवाह गर्नुपरेको बिसीले आफ्नो फेसबुक स्टाटसमा स्मरण गरेका छन् ।

आमाको साथ छुटेपछि प्रेम ठुला बाबाको घरमा पुगे । जाजरकोटको साविक डाँडागाउँ–६, हाल नलगाड–३ का उनी त्यहीँबाट आफ्नो जीवनको अर्को अध्याय सुरु गर्न बाध्य भए ।

उनलाई पढ्ने अवसर भने शिक्षक बिसीले पढाउने श्री सूर्योदय माध्यमिक विद्यालय, कैनामा कक्षा ४ मा भर्ना भएपछि मिल्यो। संयोग यस्तो थियो—प्रेम विद्यार्थी मात्र बनेनन्, शिक्षक बिसीसँग एउटै घरमा बस्ने अवस्था पनि बन्यो ।

‘उनी मेरो विद्यार्थी मात्र होइन, रुम पार्टनरसमेत बने,’ बिसीले आफ्नो पुरानो सम्झना सार्वजनिक गर्दै लेखेका छन् ।

बिसीका अनुसार प्रेम पढाइसँगै प्राविधिक तथा सिर्जनात्मक काममा बढी रुचि राख्थे। बाँसको ढुंग्रो र काठका फ्ल्याक काटेर विभिन्न किसिमका टुकी तथा बत्ती बनाउने, क्यासिनो बजाउनेजस्ता काममा उनको रुचि थियो । शिक्षक बिसी पनि ती बाल्यकालका दिन सम्झँदै अहिले भावुक भएका छन् ।

dainiki.com

समयसँगै शिक्षकको सरुवा भयो । प्रेमसँग प्रत्यक्ष सम्पर्क टुट्यो। तर उनको जीवनयात्रा रोकिएन।

बिसीले पछि प्रेम खलंगामा आफ्नै साथीकी छोरीसँग विवाह गरेको र एम्बुलेन्स चालक बनेको खबर सुने । त्यसले उनलाई खुसी बनायो । त्यसपछि प्रेमले एकैपटक दुई–तीन ठाउँमा नायब सुब्बा पदमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेको खबर पाएपछि उनको खुसी झनै बढ्यो।

र अहिले त्यही विद्यार्थी शाखा अधिकृत बनेको खबरले भने शिक्षक बिसीको खुसीको सीमा नै रहेन।

‘अहिले त अधिकृतमा नाम निकालेको सुन्दा खुशीको सीमाना नै छैन,’ बिसीले लेखेका छन्।

प्रेमले आफ्नो सफलताको श्रेय भने आफूलाई मात्र दिएका छैनन् । उनले परिवारको त्याग, आमाको आशीर्वाद, स्वर्गीय बाबुको सम्झना, शुभचिन्तकको साथ र विशेषगरी जीवनसाथीको त्यागलाई आफ्नो सफलताको आधार मानेका छन् ।

उनका अनुसार अधिकृतको परीक्षाको तयारीका क्रममा उनकी श्रीमती आफैं एक महिनाकी सुत्केरी थिइन्। नवजात शिशुको हेरचाहसँगै आफ्नै स्वास्थ्य र शारीरिक पीडाबीच पनि उनले प्रेमको सपनालाई प्राथमिकता दिइन्।

‘आजको यो सफलता जति मेरो हो, त्यति नै उनको पनि हो,’ प्रेमले लेखेका छन्।

सहचालक भएर काम गर्दा अगाडिबाट ‘कान्छो’ र पछाडिबाट ‘खलासी’ भनेर बोलाइँदा चित्त दुखेको सम्झना प्रेमले अहिले पनि बिर्सेका छैनन्। करिब साढे ६ वर्ष चालकका रूपमा काम गर्दा अगाडिबाट ‘गुरुजी’ र पछाडिबाट ‘डाइभर’ भनेर कुरा काटिएका दिनहरू पनि उनका स्मृतिमा ताजै छन्।

तर त्यही अपमान र अभावले उनलाई रोक्न सकेन।

गाडी चलाउने कामसँगै उनले सरकारी सेवाको सपना देखे। संघर्ष गर्दै पढे, परीक्षा दिए र नायब सुब्बा हुँदै अहिले शाखा अधिकृत बन्न सफल भए।

आफ्नो सफलतालाई उनले संघर्षका दिनहरूको उपलब्धि र परिवारको साझा सपना भनेका छन्। अब भने आफूमा खुसीसँगै जिम्मेवारी पनि थपिएको उनको भनाइ छ।

‘अबको यात्रा इमानदारी, निष्ठा र समर्पणका साथ आफ्नो जिम्मेवारी बहन गर्ने प्रयास गर्नेछु,’ उनले लेखेका छन्।

उनका शिक्षक बिसीले पनि प्रेमलाई सफल कार्यकालको शुभकामना दिँदै अझ अगाडि बढेको हेर्न चाहेको बताएका छन्।

एउटा बालक, जसले सानै उमेरमा बाबु गुमायो, आमाको साथबाट पनि टाढिनुपर्‍यो, अरूको घरमा आश्रय लिएर पढ्न थाल्यो, सहचालक र चालकको काम गर्‍यो र सामाजिक टिप्पणी तथा अभावका बीच पनि आफ्नो सपना छाडेन—आज त्यही बालक सरकारी सेवाको शाखा अधिकृत बनेका छन्।

प्रेम बुढामगरको सफलता त्यसैले एउटा पदमा पुगेको कथा मात्र होइन, परिस्थितिले मानिसको भविष्य निर्धारण गर्दैन भन्ने बलियो उदाहरण पनि बनेको छ।

प्रकाशित मिति : November 9, 2026 at 2:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/