होमस्टेमा करोडौँ अनुदान, पूर्वाधार बन्यो तर प्रतिफल शून्य
-मिला दरै
२० कात्तिक, तनहुँ । गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको आयआर्जन बढाउने उद्देश्यलेहोमस्टेको पूर्वाधार निर्माण र क्षमता अभिवृद्धिमा करोडौँ रुपैयाँ खर्च गरिसकेको छ । तर, सरकारी अनुदानबाट भौतिक संरचना निर्माण भएका कतिपय होमस्टेमा पर्यटकको नियमित आगमन हुन नसक्दा लगानीअनुसार स्थानीय उत्पादनको बिक्री, रोजगारी सिर्जना र समुदायको आम्दानीमा अपेक्षित सुधार हुन सकेको छैन।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि सामुदायिक होमस्टेलाई ग्रामीण पर्यटनको आधारका रूपमा विकास गर्ने नीति लिँदै पूर्वाधार निर्माण तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । होमस्टेका लागि भवन निर्माण, आवश्यक भौतिक संरचना विकास तथा सञ्चालकको क्षमता अभिवृद्धिमा प्रदेश सरकारले अनुदान उपलब्ध गराउँदै आएको हो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ११ जिल्लाका होमस्टेको पूर्वाधार निर्माणका लागि २९ करोड ५९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेकोमा २७ करोड ७९ लाख ३६ हजार रुपैयाँ खर्च गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा सामुदायिक होमस्टे पूर्वाधार विकास कार्यक्रमका लागि १२ करोड ६१ लाख १६ हजार रुपैयाँ खर्च गरिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ११ जिल्लाका ४६ होमस्टेका लागि चार करोड ५७ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएकोमा तीन करोड ८० लाख ८८ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ११ वटा होमस्टेका लागि एक करोड रुपैयाँ विनियोजन गरिएकामा ६८ लाख ३७ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
‘एक निर्वाचन क्षेत्र, एक होमस्टे’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा ३४ वटा होमस्टेका लागि चार करोड रुपैयाँ विनियोजन गरिएकोमा तीन करोड ८८ लाख ७६ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा होमस्टे पूर्वाधार विकासका लागि एक करोड रुपैयाँ विनियोजन गरिएकोमा ९४ लाख रुपैयाँ खर्च भएको थियो ।
प्रदेश सरकारले दिगो पर्यटन प्रवद्र्धनका लागि हालसम्म ५४ करोड १३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको विवरणमा उल्लेख छ । त्यसमध्ये ४९ करोड ७२ लाख ५५ हजार ३९० रुपैयाँ होमस्टे पूर्वाधार विकासमा खर्च भएको जनाइएको छ । यद्यपि, विभिन्न आर्थिक वर्षका कार्यक्रमगत विवरण र कुल खर्चबीचको हिसाब स्पष्ट पार्न आवश्यक देखिन्छ ।
पूर्वाधार बने पनि सञ्चालनमा चुनौती
सरकारी अनुदानको मुख्य उद्देश्य होमस्टेका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुका साथै ग्रामीण बस्तीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु थियो । तर, पूर्वाधार निर्माणपछि पर्यटक आकर्षित गर्ने कार्यक्रम, व्यवस्थापन, प्रचारप्रसार र नियमित सेवा सञ्चालनमा अपेक्षित सुधार हुन नसकेको अध्ययन तथा स्थलगत अनुभवले देखाएका छन् ।
गण्डकी प्रदेश उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयका कार्यवाहक सूचना अधिकारी विमलप्रसाद गौतमका अनुसार दर्ता भएका तथा सञ्चालनमा रहेका कुनै पनि होमस्टे पूर्ण रूपमा बन्द भएको जानकारी मन्त्रालयमा छैन । यद्यपि, कतिपय होमस्टेमा पर्यटकको आगमन कम हुँदा नियमित सेवा सञ्चालनमा समस्या रहेको छ ।

पर्यटनविद् हरि सिंह गुरुङका अनुसार कतिपय होमस्टेमा स्थानीयस्तरमा आवश्यक खाद्यान्न उत्पादन नहुँदा पाहुनालाई खुवाउन बजारबाट सामग्री ल्याउनुपर्ने अवस्था छ । त्यस्तै, सडक तथा अन्य पूर्वाधारको अभावले पनि पर्यटकको आगमन प्रभावित भएको छ ।उनका अनुसार मनाङका कतिपय गाउँमा होमस्टेका भौतिक संरचना निर्माण भए पनि बसाइँसराइका कारण आवश्यक जनशक्ति अभावमा सेवा सञ्चालन गर्न कठिनाइ भएको छ ।
तनहुँको जौबारी सामुदायिक होमस्टेकी अध्यक्ष यमाया गुरुङले पनि कतिपय होमस्टेमा बस्ती कम हुनु, सडक पहुँच कमजोर हुनु र स्थानीय उत्पादनको अभावजस्ता समस्या रहेको बताइन् । उनका अनुसार केही होमस्टे राम्रोसँग सञ्चालन भएका छन् र आम्दानी पनि राम्रो भएको छ । तर, सबै होमस्टेको अवस्था समान छैन ।
अनुदानले कति बढायो पर्यटक र स्थानीय आम्दानी ?
होमस्टे प्रवद्र्धनमा सरकारी लगानी बढ्दै गए पनि त्यसबाट प्राप्त उपलब्धिको मापन कमजोर देखिएको छ । कुनै गाउँमा कति पर्यटक पुगे, कति रात बसे, स्थानीय उत्पादनको बिक्री कति बढ्यो र कति रोजगारी सिर्जना भयो भन्ने विवरण नियमित रूपमा सङ्कलन नहुँदा अनुदानको प्रभावकारिता मूल्याङ्कन गर्न कठिन भएको छ ।
विसं २०८१मा प्रकाशित गण्डकी प्रदेशमा समुदायमा आधारित होमस्टे कार्यक्रमसहितको पर्यापर्यटन अभ्याससम्बन्धी अध्ययनले पनि सरकारी सहयोग प्राप्त गरेका कतिपय होमस्टे सञ्चालनमा नरहेको र कतिपयले अपेक्षित परिणाम दिन नसकेको विषय औँल्याएको छ । अध्ययनअनुसार केही स्थानमा अनुदानबाट भवन तथा भौतिक संरचना निर्माण भए पनि पर्यटक आकर्षित गर्ने कार्यक्रम, व्यवस्थापन, प्रचारप्रसार र नियमित सेवा सञ्चालन कमजोर रहेको छ ।
अध्ययनले होमस्टे पर्यटनमा स्थानीय बासिन्दाको सहभागिता, लाभको बाँडफाँट तथा संस्कृति र प्रकृतिमा आधारित पर्यटन उत्पादनको विकासलाई महत्त्वपूर्ण मानेको छ । यसले स्थानीय समुदायको सक्रिय सहभागिता भएमा सामुदायिक होमस्टे पर्यटन ग्रामीण पर्यटन प्रवद्र्धनको उपयुक्त माध्यम बन्न सक्ने निष्कर्ष निकालेको छ ।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीका अनुसार स्थानीय समुदाय सक्रिय भएका, होमस्टे सञ्चालकबीच सहकार्य भएका, स्थानीय तहले सडक तथा खानेपानीमा लगानी गरेका र निजी क्षेत्रले प्रचारप्रसारमा भूमिका खेलेका स्थानमा कार्यक्रमको प्रभाव तुलनात्मक रूपमा राम्रो देखिएको छ ।
पूर्वाधारसँगै सीप र व्यवस्थापनमा जोड
प्रदेश सरकारले पछिल्लो समय होमस्टे सञ्चालकको क्षमता अभिवृद्धिमा पनि लगानी गर्न थालेको छ । पाक शिक्षा, नेतृत्व विकास, सूचना प्रविधि तथा सांस्कृतिक विकाससम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएका छन् ।
उपलब्ध विवरणअनुसार पाक शिक्षा तालिमका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएकोमा आठ लाख ६१ हजार २०० रुपैयाँ खर्च भएको थियो । सूचना प्रविधिसम्बन्धी तालिममा पाँच लाख रुपैयाँ विनियोजन गरिएकामा तीन लाख १२ हजार ९०० रुपैयाँ खर्च भएको थियो ।
त्यस्तै, असल अभ्यास आदानप्रदान कार्यक्रमका लागि छुट्याइएको एक लाख ५० हजार रुपैयाँ पूर्ण रूपमा खर्च भएको थियो । तर, नेतृत्व विकासका लागि विनियोजित ११ लाख रुपैयाँ र सांस्कृतिक विकास तालिमका लागि विनियोजित १० लाख रुपैयाँका कार्यक्रम सुरु नभएको विवरणमा उल्लेख छ ।

डा. खतिवडाका अनुसार होमस्टे प्रवद्र्धनका लागि अनुदानलाई तीन चरणमा परिचालन गर्न सकिन्छ । पहिलो चरणमा सम्भाव्यता अध्ययन, दोस्रो चरणमा पूर्वाधार निर्माण तथा तालिम र तेस्रो चरणमा पर्यटक आकर्षण तथा बजार विस्तारमा लगानी गर्न सकिने उनको सुझाव छ । प्रत्येक चरणको उपलब्धिका आधारमा थप रकम उपलब्ध गराउने व्यवस्था गरे अनुदानको दुरुपयोग घटाउन सकिने उनको भनाइ छ ।
अनुदान वितरणभन्दा प्रतिफलको मूल्याङ्कन आवश्यक
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ग्रामीण पर्यटनमा लगानी घटाउनेभन्दा कार्यक्रमलाई थप व्यवस्थित बनाउने आवश्यकता रहेको बताएका छन् । नयाँ होमस्टे थप्ने लक्ष्यसँगै पुराना होमस्टेको अवस्था पनि मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।
ग्रामीण पर्यटनको उद्देश्य पर्यटकको सङ्ख्या बढाउनु मात्र नभई स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनु पनि हो । होमस्टेमा स्थानीय तरकारी, दूध, अचार, मह, हस्तकला, कपडा तथा अन्य उत्पादनको प्रयोग र बिक्री बढाउन सके पर्यटनबाट प्राप्त आम्दानी गाउँभित्रै रहने सम्भावना हुन्छ । यसले महिला तथा युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै कृषि उत्पादनको बजार विस्तार गर्न सक्छ ।
त्यसैले अब गण्डकी प्रदेशको होमस्टे कार्यक्रमको सफलता कति रकम विनियोजन र खर्च भयो भन्ने आधारमा मात्र होइन, सरकारी अनुदानपछि पर्यटक आगमन, स्थानीय आम्दानी, रोजगारी र उत्पादनको बजारमा आएको परिवर्तनका आधारमा मापन गर्नुपर्ने देखिन्छ ।
प्रकाशित मिति : November 6, 2026 at 1:35 pm










