१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

-तारक धिताल

चिच्याउँछु म
आफै भित्र
बाहिर चिच्याउन त
‘मान्य’ जन छँदै छन्
यतै उतै जताततै
जहाँ जसलाई
जे भने पनि सही मान्ने
जमात फेरी उत्तिकै !
चर्को, ठाडो बोल्दैमा सही
शिष्टता, भद्रतामा गलत
होला र कसरी खै?

आक्रोस हो कि ‘स्टन्ट’
वा हो ‘बानी नानी देखिको’
कि भएको हो
‘बोकाको मुखमा कुभिन्डो’?
छैन न्युनतम मानवीय शिष्टता
कस्तो संस्कार बसाउँदै छौं यता
‘किन यस्तो?’ भन्नै नहुने कसैले
ओईरिन्छ तुच्छ गाली
लट्टीएकाहरूको एल्गोरिदमले !

सही नै भए पनि
रिस आवेग वा पूर्वाग्रहले
उठाउँदा कुरो गलतढंगले
ओझेलमा पर्न सक्छ विषय
आफ्नै कमजोरीले !
हेपेर नीच देखाउँदैमा
चल्दैन ‘सिस्टम’ चिच्याउँदैमा
गडबड त महसुस भएकै थियो ईन्जिनमा
गाडीको ‘ओभरअल’ गर्नु पनि थियो नै
आश र भरोसा हो गरेकै
परिवर्तनका लागि
लहैलहमा होस् कि बुझेरै
नयाँको अनुहारले होस् कि
पुरानासंगको आक्रोसले नै
हात त हो नि फेरेकै!

मर्मत सम्भारका नाममा
गाडी बनाउँछु भन्नेले
जान्ने हुन् या नजान्ने
मिस्त्रिको भीडले
हतारमै पार्टपूर्जा त खोले
अब बन्ने भो भनि
कतिले ताली पनि ठोके
तर सही पूर्जा सही ठाउँमा
सही ढंगले जड़ान नभए
नयाँ ‘जेनुयन’ नै फेरेको भन्दैमा
इन्जिन कसरी चल्ला
‘जेनुयन’ भनिएको ‘कपी’ परिदिँदा
वा मनपरेको भन्दै
अमिल्दा पार्टपूर्जा जोड्दैमा
खै अब गाडी कसरी गुड्ला ?

को हो मिस्त्री, हेल्पर हो को?
हेड मिस्त्री खै को हो
अनि छ कि कतै
अदृश्य मालिक कारखानाको?
मन शुद्ध भए पनि
सीप न्यून हो कि
कुत्सित मनले
पर्दा भित्र छ खेल रचिएको ?

कुदोस् गाडी
पुगियोस् सुरक्षित गन्तव्य
भन्दै
सुन्दर बनाउने उत्कट आशमा
जेनतेन चल्दै गरेको गाडी
पुऱ्यायौं ‘नयाँ’ कारखानामा
बनेर सरर कुद्ला कि
कामै नलाग्ने भै पुग्ला कवाडमा ?
लौ भन साथि यही चिन्तामा
अब चिच्याउँ म कहाँ ?

प्रकाशित मिति : November 4, 2026 at 7:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/