काठमाडौँ महानगर क्षेत्रभित्र प्लास्टिकका फूल बेच्न प्रतिबन्ध, बेचे जफत गरिने
१७ कात्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारका लागि महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामाग्री बिक्री गर्न प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामाग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको हो।
दीपावली पर्वका अवसरमा यस वर्ष काठमाडौँ महानगरपालिका क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामाग्री बिक्री वितरण नगर्नु/नगराउनुहुन र स्वदेशी फूल र मालाको बिक्री वितरणलाई प्राथमिकता दिई कार्य गर्न/गराउन सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा हार्दिक अनुरोध गर्दछौँ सूचनामा भनिएको छ, यो सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामाग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने बेहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।
महानगरले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ । महागर नगर कार्यापालिकाको कार्यालयले सूचना जारी गर्दै नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्युरोन, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : November 3, 2026 at 3:05 pm










