१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

प्रधानन्यायधीश र रास्वापा सांसदको नाममा अमेरिकामा घुस, होटलमा भेट्न न्यायाधीशको प्रस्ताव

-माधवप्रसाद तिवारी

१२ कात्तिक, काठमाडौँ । अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटाको मोबाइलमा भेटिएका भनिएका संवादले न्यायालय र सुरक्षा निकायका उच्च अधिकारीहरूसँग उनको शंकास्पद सम्बन्ध रहेको देखाएका छन् ।

सापकोटाले प्रधानमन्त्री बालेन्द्र शाहको नामसमेत प्रयोग गरेर न्यायाधीशहरूसँग संवाद गर्ने गरेको र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग विवादास्पद कारोबारीको समूहका सदस्यलाई धरौटीमा छाडिएको मुद्दाका विषयमा कुराकानी भएको देखिन्छ।

सापकोटासँग सम्बन्धित भनिएका केही सन्देशमा बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नामसमेत उल्लेख भएको विवरण सार्वजनिक भएको छ ।

अमेरिकामा रहेको बैंक खातामार्फत रकम जम्मा गर्ने विषयमा भएको भनिएको संवादले उच्च पदस्थ व्यक्तिहरूको नाममा विदेशमा रकम राख्ने गरिएको हो कि भन्ने गम्भीर प्रश्न उठाएको छ।

सर्वोच्चका न्यायाधीश हरि फुयाल र विचौलिया इनम सापकोटाको बीचमा भएको कुराकानी ।

तर, संवादमा नाम उल्लेख हुँदैमा सम्बन्धित व्यक्तिले घुस लिएको वा रकम प्राप्त गरेको स्वतः प्रमाणित हुँदैन । उक्त रकम वास्तवमै जम्मा भएको हो वा होइन, यसको स्रोत के हो र नाम उल्लेख भएका व्यक्तिहरूको त्यसमा कुनै संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।

अमेरिकाको बैंकमा रकम जम्मा गर्ने संवाद

सापकोटासँग सम्बन्धित एउटा सन्देशमा जनवरी, नोभेम्बर र डिसेम्बर गरी तीन महिनाको रकम उल्लेख छ । त्यसमा कुल १ लाख ९८ हजार ३३३ र कर कटाउँदा १ लाख ७४ हजार ३३३ हुने हिसाब देखाइएको छ । अमेरिकाको बैंकमा जम्मा गर्ने कुरा र रकमको आकार हेर्दा यो डलरमै रहेको अनुमान गर्न सकिन्छ । तर, उक्त रकम अमेरिकी डलरमा हो वा नेपाली रुपैयाँमा भन्ने कुरा सन्देशमा भने स्पष्ट छैन।

सोही विवरणमा प्रधानन्यायाधीश मनोजकुमार शर्मा, ओखलढुङ्गाबाट निर्वाचित सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नाम उल्लेख गरिएको छ ।

उक्त रकम अमेरिकामा रहेका सापकोटाका सालो नीराजन पाण्डेको नाममा रहेको भनिएको बैंक अफ अमेरिकाको खातामा जम्मा गर्न खाता विवरणसमेत पठाइएको देखिन्छ । नेपालकै बैंकमा रकम जम्मा गर्नुपरे सापकोटाकी श्रीमती कविता पाण्डेको खातामा पठाउन सकिने विकल्प पनि सन्देशमा उल्लेख भएको पाइएको छ ।

यी विवरण हेर्दा रकमको वास्तविक कारोबार, त्यसका लाभग्राही वा नाम उल्लेख भएका व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । बैंकिङ अभिलेख, रकमको स्रोत र सम्बन्धित व्यक्तिहरूसँगको सम्बन्धबारे थप स्वतन्त्र अनुसन्धान आवश्यक देखिन्छ ।

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाल यस प्रकरणसँग सम्बन्धित घटनाक्रमपछि निलम्बन हुँदै बर्खास्त नै भएका थिए । उनीमाथि मुख्य रूपमा सूचना बेचेको अभियोग लगाइएको थियो । दाहालकै शैलीमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र अतिरिक्त प्रहरी महानिरीक्षक डा राजन अधिकारीले पनि सूचना बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । तर अहिलेसम्म कारबाहीमा भने दाहालमात्र परेका छन ।

स्रोतको दाबी उद्धृत गर्दै सार्वजनिक भएका विवरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा शर्मा र पोखरेलसँग सापकोटाको सम्पर्क रहेको र अदालतमा मुद्दाको परिणाम प्रभावित पार्ने प्रयासमा उनीहरू जोडिएको बताइन्छ । यसको स्वतन्त्र पुष्टि र सम्बन्धित पक्षको प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ। यद्यपी यो मुद्दा अदालतसम्म पुग्ने अवस्थामा धेरै कुराहरू सार्वजनिक हुँदै जानेछन ।

न्यायाधीश फुयालसँग विवादास्पद मुद्दाबारे संवाद, होटलमा भेट्न प्रस्ताव 

अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालबीच भएको ह्वाट्सएप संवादले थप प्रश्न उठाएको छ।

फुयालले विवादास्पद कारोबारी दीपक भट्टको समूहका सदस्य रोहित गुप्तालाई दुई करोड रुपैयाँ धरौटी मागिएको उल्लेख गर्दै सापकोटालाई सन्देश पठाएका थिए । उनले गुप्तालाई धरौटीमा छाड्ने आदेशको लिंकसमेत पठाएको समाचारमा उल्लेख छ ।

विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनमा न्यायाधीश फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत भदौ १७ गते उक्त निर्णय उल्ट्याउँदै गुप्तालाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

आदेश भएकै दिन फुयाल र सापकोटाबीच संवाद भएको देखिएको छ । संवादमा फुयालले सापकोटालाई भोलिपल्ट साँझ ७ बजे हिमालय होटल कुपण्डोलमा भेट्न प्रस्ताव गरेका छन ।

सर्वोच्चका न्यायाधीश हरि फुयाल र विचौलिया इनम सापकोटाको बीचमा भएको कुराकानी ।

अदालतमा विचाराधीन मुद्दाका पक्षसँग सम्बन्धित व्यक्तिसँग न्यायाधीशको यस्तो संवाद र भेटको प्रस्तावले न्यायिक निष्पक्षतामाथि स्वभाविक प्रश्न उठ्छ । अहिले प्रहरीले सम्भावित भेटको यथार्थ पत्ता लगाउन होटलको सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धान गरिरहेको बुझिएको छ ।

विशेषगरी, प्रधानन्यायाधीश र सांसदको नाम जोडिएको भनिएको रकमसम्बन्धी संवाद तथा न्यायाधीशले बिचौलियालाई होटलमा भेट्न प्रस्ताव गरेको विवरणले न्यायिक उत्तरदायित्व र संस्थागत पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको छ।

अनुसन्धान अधिकृतहरूका अनुसार सापकोटाले सिंगापुरको मोबाइल नम्बर प्रयोग गरेर कुराकानी गर्ने गरेका थिए । उनको सिंगापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट रहेको विवरण यसअघि नै सार्वजनिक भैसकेको छ ।

सापकोटालाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइलमा भेटिएको भनिएको संवादका आधारमा उनको सम्पर्क सञ्जालबारे अनुसन्धान अघि बढेको बताइएको छ।

सापकोटामाथि नेपाल राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सार्वजनिक विवरणमा उल्लेख छ । विवादास्पद कारोबारी दीपक भट्टविरुद्ध धितोपत्र, बिमा तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको र सरकारले २७ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति कसुरजन्य कार्यबाट आर्जन गरेको अभियोगसहित बिगो दाबीको मुद्दा अदालचमा विचाराधिन रहेको छ ।

यसअघि दीपक भट्टको विवादित कम्पनी मार्फत सर्वोच्च अदालतकै न्यायाधीश सपना प्रधान मल्लले बुहारीको नममा सेयर लिएको विषय पनि दैनिकीले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : October 29, 2026 at 8:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/