दुई महिनामै भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स, भदौमा मात्रै २ खर्ब २१ अर्ब
२९ असोज, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको भदौमा यस्तो आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो। यस आधारमा गत वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको भदौमा विप्रेषण आप्रवाह ४६ अर्ब ६४ करोड रुपैयाँले बढी देखिएको छ।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह दोहोरो अंकले बढेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।
पहिलो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उच्च देखिएको छ।
संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९८ हजार ३२० पुगेको छ। त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ थियो।
प्रकाशित मिति : October 15, 2026 at 2:54 pm







