नेपाल ह्विलचियर टेनिस संघलाई नेप्लीज टेनिस क्लब अष्ट्रेलियाद्धारा सहयोग
एडिलेड — अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरूको संस्था नेप्लीज टेनिस क्लब अष्ट्रेलियाले ह्विलचियर टेनिस खेलको विकास र पारा एसियन गेमको तयारीका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
जापानमा हुन गइरहेको पाँचौँ पारा एसियन गेम (आईच नागोया) मा नेपाली ह्विलचियर टेनिस खेलाडी, प्रशिक्षक, अफिसियल र व्यवस्थापनको सहयोगार्थ अष्ट्रेलियाबाट आर्थिक संकलन गरी पठाएको छ ।
क्लबका उपाध्यक्ष नविन कडेलका अनुसार साउथ अष्ट्रेलियामा रहेका नेपाली खेलाडी तथा खेलप्रेमी दाजुभाइहरूको सक्रियतामा उक्त सहयोग जुटाइएको हो।
नेपाल ह्विलचियर टेनिस संघलाई १,३२५ अष्ट्रेलियन डलर (नेपाली रुपैयाँ १ लाख ४१ हजार ७ सय ७५) सहयोग गरेको हो ।
यसै बिच नेपाल ह्विलचियर टेनिस संघले एक पत्रमार्फत क्लबलाई धन्यवाद ज्ञापन गरेको छ । अप्ठ्यारो परिस्थितिमा संघलाई अमूल्य सहयोग गर्ने दिपेन गुरुङ, नविन कडेल, राज केसि, बलराम भण्डारी, सुरेन रेग्मी, सन्दिप गुरुङ, लोकेन गुरुङ, दिपेश कुवर, उमेश बुढाथोकी, रेशम गुरुङ, दिपेश महर्जन, उदय आचार्य, रमेश अधिकारी, सुवर्ण सापकोटा, सन्दिप भण्डारी, अमर खड्का, दिलिप तामाङ, पुर्ण गुरुङ, कृष्ण गुरुङ, बबिनराज भण्डारी, कुमार ढकाल र अशोक केलिसहित २२ जना दाताहरूलाई संघले विशेष धन्यवाद दिएको छ।
संघले आगामी दिनमा पनि नेपाली अपाङ्गता भएका खेलाडीहरूको खेलकुद विकास र प्रोत्साहनका लागि यस्तै सहकार्य र सहयोगको अपेक्षा गरेको जनाएको छ।
प्रकाशित मिति : October 14, 2026 at 1:06 pm







