४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

“मेरो धरहरा मै बनाउँछु” अभियान सफल पार्न प्रधानमन्त्री अोलीको ध्यानाकर्षण

१५ चैत, काठमाडाैँ । “मेरो धरहरा मै बनाउँछु” अभियानलाई सफल पारौं भन्दै धरहराका स्थानियबासीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव उपसिचव युवराज दाहाललाई उक्त ज्ञापनपत्र बुझाइएको हो ।

“हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ” स्थानिय संघर्ष समतिका संयोजक वेदप्रकाश गौतम संयोजकत्वको एक समितिले मेरो धरहरा मै बनाउँछु कोषको खातामा रु.५१,१०१ नगदसहित राष्ट्रिय धरोहर धरहरा तत्काल बनाईनुपर्ने माग राखेको छ । राष्ट्रिय सम्पदा धरहरा वरीपरी अन्य कुनै व्यापारिक भवनहरु निर्णण हुन नहुने र उक्त स्थललाई पर्यटकीय स्थल बनाईनुपर्ने भन्दै समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उदेश्यसहित ज्ञापनपत्र बुझाएको जनाएको छ । समितिले धरहरा निर्माणमा आफूहरुले आवश्यक जनश्रमदान गर्न पनि तयार रहेको जनाएको छ ।

हस्ताक्षर र ज्ञापन बुझदै प्रधानमन्त्रीका निजी सचिव उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानियको सकारात्मक कार्यलाई आफूले आजै प्रधानमन्त्री ओलीसमक्ष पुर्याएर सम्बन्धित निकायमा धरहरा निर्माणको कार्य अगाडि बढाउने विषयमा पहल अगाडि बढाउने बताए । साथै उनले धरहरालाई असर पुग्ने हिसाबले त्यस आसपासमा कुनै भवन निर्माण हुन नहुने भन्दै यसले प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण भएको बताए ।

धरहरा तत्काल बन्नुपर्ने माग गर्दै “हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, धरहरा बनाउन हस्ताक्षर अभियानमा सहभागी र्हौं” भन्ने नारामा साथ सात समितिले चैत ३ गते देखि चैत ९ गते सम्म बिहान १० बजे देखि बेलुका ६ बजे सम्म लिखित हस्ताक्षर संकलन गरेको थियो । उक्त अभियानमा स्थानिय खिचापोखरी युवा क्लब, संकटा क्लबका साथै अन्य स्थानियहरु लागिपरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १८:३१