बैंकहरूले शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने
२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई महानगरपालिकाका साथै उपमहानगर र नगरपालिकाका सहरी क्षेत्रमा रहेका शाखाहरू आपसमा समायोजन तथा एकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।
सहरी क्षेत्रका चारवटा शाखा समायोजन गरी बन्द गरेबापत कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नपुगेको ग्रामीण क्षेत्रको वडामा अनिवार्य रूपमा एउटा नयाँ शाखा खोल्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सर्कुलरमार्फत एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ।
विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा वित्तीय संस्थाका शाखा उल्लेख्य रहेको सन्दर्भमा महानगरपालिकामा रहेका शाखा सम्बन्धित संस्थाले स्वयं समायोजन वा एकीकरण गर्न सक्ने व्यवस्था कायम छ। अब उपमहानगरपालिका तथा नगरपालिकाभित्रका आफ्ना शाखा पनि तोकिएका सबै सर्त पूरा गरी संस्था स्वयंले समायोजन गर्न सक्नेछन्।
तर, यसरी शाखा समायोजन गर्दा एक किलोमिटर दूरीभित्र सञ्चालनमा रहेका शाखाहरूमध्ये कम्तीमा एउटा शाखा कायमै रहनुपर्नेछ र सोही दूरीभित्रका आफ्ना अन्य शाखा मात्र गाभ्न पाइनेछ । गाउँपालिका तथा ग्रामीण क्षेत्रमा रहेका शाखा कार्यालयहरूको हकमा भने राष्ट्र बैंकको पूर्वस्वीकृति बिना बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्न पाइने छैन ।

राष्ट्र बैंकले शाखा समायोजनको बहानामा बैंकहरूले कर्मचारी कटौती गर्न नपाउने निर्देशन समेत दिएको छ । निर्देशनअनुसार शाखा समायोजन वा एकीकरण भएको कारण देखाएर सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन । त्यस्ता कर्मचारीहरूलाई नजिकको शाखा वा उनीहरूको प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ ।
साथै, शाखा समायोजन गर्दा उक्त क्षेत्रको समग्र वित्तीय पहुँचमा कुनै प्रतिकूल असर पर्न नहुने सुनिश्चितता बैंकहरूले गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा प्रकाशन गर्नुपर्नेछ ।
शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
शाखा समायोजन गर्दा उक्त क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्नेछ । शाखा समायोजन गरेको ३ कार्यदिनभित्र केन्द्रीय बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ र तोकिए बमोजिम विवरण बैक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : October 9, 2026 at 6:00 pm






