अनलाइनबाट विद्युत् महसुल तिर्ने घरेलु ग्राहकलाई थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिइने
२३ असोज, काठमाडौं । विद्युत् महसुल भुक्तानीमा डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले अनलाइनबाट महसुल बुझाउने घरेलु ग्राहकलाई थप सहुलियत दिने भएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा प्राधिकरण सञ्चालक समितिको बैठकले डिजिटल माध्यम रोज्ने घरेलु ग्राहकलाई पहिलो चरणमा ६ महिनाका लागि थप ०.५० प्रतिशत स्मार्ट ‘पे रिवार्ड’ उपलब्ध गराउने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार मिटर रिडिङ भएको सात दिनभित्र महसुल भुक्तानी गर्दा हाल दिइँदै आएको २ प्रतिशत छुट यथावत् रहनेछ। उक्त छुट कायम राख्दै अनलाइन माध्यमबाट महसुल बुझाउने ग्राहकले थप छुट तथा सहुलियत पाउने मन्त्रालयले जनाएको छ।

यसका साथै, अनलाइन माध्यम प्रयोग गरेर जुनसुकै समयमा महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले पनि सो ०.५० प्रतिशत अतिरिक्त रिवार्ड सुविधा प्राप्त गर्न सक्नेछन्। पहिलो चरणमा ६ महिनाका लागि लागु गरिएको यो रिवार्ड योजनाको प्रभावकारिता र मूल्यांकनका आधारमा आगामी दिनमा यसलाई निरन्तरता दिनेबारे थप निर्णय गरिने प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति : October 9, 2026 at 12:00 pm






