१०० रुपैयाँको नोट अब एटीएमबाटै
२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।राष्ट्र बैंकको निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाहरूले सीमित एटीएमबाट १०० रुपैयाँ दरका नयाँ नोट वितरण सुरु गरेका छन्।
दसैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका दरबारमार्ग, सिंहदरबार, न्युरोडलगायतका केही स्थानमा रहेका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।

‘एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन’, उनले भने, ‘चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैैँ मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिदैन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।’ प्रवक्ता पौडेलले यही असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : October 7, 2026 at 2:53 pm






