लामो समयपछि धितोपत्र बोर्डले हिम पर्वत हाइड्रोपावरलाई दियो आईपीओ निष्काशनको अनुमति
१९ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ। बोर्डको असोज १६ गते बसेको सञ्चालक समिति बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने छ । आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।

हिम पर्वत हाइड्रोपावरले २०८१ मंसिर ५ गते आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले ५.५ मेगावाट क्षमताको सागु खोला–१ र २० मेगावाट क्षमताको सागु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ सालदेखि विद्युत उत्पादन गर्दै आएको छ। कम्पनीले विद्युत उत्पादनसमेत सुरु गरिसकेको र यसको नेटवर्थ १०० रुपैयाँभन्दा माथि रहेकाले आईपीओ निष्काशनका लागि अनुमति दिइएको हो।
प्रकाशित मिति : October 5, 2026 at 10:37 am






