१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो २ बजे हुनेछ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहने कांग्रेसले जनाएको छ।

महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसले सहभागी तथा प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि काठमाडौंका विभिन्न ८ स्थानमा पार्किङको व्यवस्था मिलाएको छ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थल प्रयोग गर्न सकिनेछ।

उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि बोकेर आउने ठूला बसका लागि भने माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङस्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको स्वाँरले जानकारी दिए। यसका लागि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार धरहरा अन्डरग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य तोकिएका स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ।

कांग्रेसले महाधिवेशनमा सहभागी नेता–कार्यकर्तालाई आफूले प्रयोग गरेर आउने सवारीसाधन तोकिएका पार्किङस्थलमै व्यवस्थापन गर्न आग्रह गरेको छ। निर्धारित स्थानमा पार्किङ गर्दा काठमाडौंको सवारी आवागमन व्यवस्थापन सहज हुने कांग्रेसको भनाइ छ।

प्रकाशित मिति : October 4, 2026 at 7:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/