११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

ओएनएफ ओशियानाको पहिलो अधिवेशन, अध्यक्षमा सन्तोष दहाल

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) ओशियाना महादेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष दहालको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि  नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र संघको महासभा गम्भीर र महत्वपुर्ण कुरा उठाएको बताउदै रसुवा वाढी पहिरो उद्धारमा भने सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताउनु भयो । उहाले समयमा नै सुरुङबाट उद्धारका लागि चिन र भारतको सहयोग लिन नसक्नु कमजोरी भएको विज्ञहरुले समेत औलाएको बताउनुभयो।

अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका सचिव संगठन बिभाग प्रमुख भानुभक्त ढकालले प्रवासीहरुले विदेशका विश्वविद्यालयहरुमा आर्जन गरेका ज्ञान सिपहरुलाई मातृभुमीमा समृद्धिका समेत प्रयोग गर्न आग्रह गर्नु भयो ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका पुर्व अध्यक्ष तथा ओशियाना इन्चार्ज संजय थापाले प्रवासी नेपालीहरुको वंसजको नागरिकताको निरन्तरता हुनु पर्ने बताउनु भयो।

अधिवेशनको खुल्ला सत्रलाई सम्बोधन गर्दै ओएनएफ अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष रमेश पाण्डेले प्रवासमा रहेका नेपालीहरुको समेत सक्रिय साथ र सहयोगबाट समृद्ध नेपाल निर्माण गर्ने ओएनएफको उद्देश्य रहेको बताउनु भयो ।

खुल्ला सत्रलाई मञ्चका सचिव चानक पोखरेल, उप सचिव प्रभु राम थापा, सदस्यहरु डाविनोद श्रेष्ठ, शिशिर नेपाल, माधव शाह, सल्लाहकार सदस्य डा. जगदीश तिमिल्सिना लगायतका वक्ताहरुले नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

अधिवेशनले अध्यक्षमा दहाल सहित उपाध्यक्ष होम नाथ निरौला, सचिव अशिम कोइराला उप सचिव भावना नेपाल र सन्तोष श्रेष्ठ, सदस्यहरुमा बालगोपाल उपाध्याय, राम घिमिरे,हेम खनाल, उत्तम अधिकारी, नरविर नेम्वाङ, नारायण चौलागाईं, अशोक केशी, विशाल रानामगर रहनु भएको छ । भने मञ्चका अष्ट्रेलिया अध्यक्ष रमेश पौडेल र न्युजिल्यान्ड अध्यक्ष मिलन जिसी पदेन सदस्य रहनु भएको छ । 

कार्यक्रम राजु उपाध्यायको अध्यक्षता र सन्तोष दहालको संचालनमा भएको थियो । अधिवेशनको बन्द सत्रले निवर्तमान अध्यक्ष राजु उपाध्यायले पेश गर्नु भएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । अधिवेशन भर्चुअल माध्यममा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : September 27, 2026 at 5:39 am