दुई कम्पनी र तीन म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
८ असोज, काठमाडौं । दुई कम्पनी र तीन म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन माछापुच्छ्रे बैंक, कालिञ्चोक दर्शन, आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
कालिञ्चोक दर्शनले भोली असोज ९ गते बुकक्लोज गर्दैछ भने माछापुच्छ्रे बैंकले र आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले असोज १२ गते बुकक्लोज गर्दैछन्। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी तथा इकाईधनीहरुले यी कम्पनी तथा योजनाहरुको लाभांश प्राप्त गर्न सक्नेछन्।
कालिञ्चोक दर्शन लिमिटेडले असोज १६ गते जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

माछापुच्छ्रे बैंक लिमिटेडले असोज २८ गते, बुधबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा वार्षिक साधारण सभा बोलाएको छ। बैंकको २८ औँ वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले अग्राधिकार शयरधनीहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयरको ८.२५ प्रतिशतका दरले असार मसान्तसम्मको समानुपातिक रुपमा हुने नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्तावहरु पारित गर्नेछ।
त्यस्तै, आरबिबि म्युचुअल फण्ड १ ले करसहित २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ (GIBF1) ले १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ।
प्रकाशित मिति : September 24, 2026 at 10:06 am




