४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

स्रष्टाको रोयल्टीमाथि सगरमाथा डिजिटलको ‘रजाइँ’

४ असोज, काठमाडौँ । गीतकार तथा सर्जक शशि शर्मा मजगैयाँका ४८ वटा चर्चित गीत तथा गजलहरू अनुमतिबिना अनधिकृत रूपमा प्रयोग, दर्ता र बिक्री-वितरण गरी ३९ लाख रूपैयाँभन्दा बढी आम्दानी गरको अभियोगमा सगरमाथा डिजिटल प्रा.लि.का सञ्चालक हिरा बहादुर के.सी. विरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

मुलुकी अपराध संहिता, २०७४ को ठगी सम्बन्धी कसूर र प्रतिलिपि अधिकार ऐन, २०५९ बमोजिम दायर गरिएको उक्त मुद्दामा प्रतिवादी के.सी.माथि कैद, जरिवाना, बिगो असुल र क्षतिपूर्तिको मागदाबी गरिएको छ ।

अनधिकृत कब्जा र रोयल्टीको दोहन

प्रहरी अनुसन्धान अनुसार, जाहेरीवाला शशि शर्मा मजगैयाँका अञ्जु पन्तको स्वरमा रहेको ‘तिम्रै यादमा’, नरेन्द्र प्यासीको स्वरमा रहेको ‘तिम्रो माया मेरो माया’ लगायत ‘परिभाषा’ एल्बमका विभिन्न गीत/गजलहरू स्रष्टाको अनुमतिबिना सगरमाथा डिजिटल प्रा.लि.का नाममा दर्ता गरी व्यापारिक दोहन गरिएको थियो ।

प्रतिवादी हिरा बहादुर के.सी.ले वास्तविक स्रष्टालाई वित्तीय विवरण नदेखाई भ्रममा पारी पाँच हजार मात्र दिएर ठूलो रकम आफैँले हडपेको मिसिल संलग्न कागजातहरूले देखाएका छन्
। म्युजिक नेपालबाट प्राप्त आधिकारिक वित्तीय विवरण अनुसार सगरमाथा डिजिटलले स्रष्टाका ती सिर्जनाहरूबाट रु. ३९,२४,४९७/- (उनान्चालीस लाख चौबीस हजार चार सय सन्तान्नब्बे) आम्दानी गरेको पुष्टि भएको छ ।

डिजिटल इतिहास तोडमोड र स्रष्टाकै ख्याति मेट्ने प्रपञ्च

मुद्दाको अनुसन्धानका क्रममा प्रतिवादीले डिजिटल माध्यममा व्यापक तोडमोड र स्रष्टाको नाम एवं श्रेय (Credit) मेट्ने काम गरेको खुलासा भएको छ। घटना विवरण कागज गर्ने सङ्गीतकार सन्तोष श्रेष्ठका अनुसार २०६८/०८/०८ मा ‘तिम्रै यादमा’ गीत निर्माण सम्बन्धी भएको सम्झौता अनुसार रकम लेनदेन नभएकाले सो सम्झौता कार्यान्वयन भएको थिएन। तर, प्रतिवादीले सम्झौता अगावै स्रष्टाकै लगानीमा बनेको गीतमाथि अनधिकृत नियन्त्रण जमाएका थिए ।

अझ गम्भीर कुरा, ‘तिम्रै यादमा’ गीतको म्युजिक भिडियोमा रहेका १० वटा मलेसियाली व्यावसायिक कोडहरूमध्ये ४ वटाको मात्र आम्दानी मूल विवरणमा देखाएर बाँकी ६ वटा कोडबाट स्रष्टाको नाम र शीर्षक नै बदलेर लाखौँ रुपैयाँ आम्दानी लुकाएको पाइएको छ ।

मुद्दा परेको थाहा पाएपछि प्रतिवादीले युट्युबबाट भिडियो हटाउन लगाउने, स्रष्टा स्वयंलाई कपीराइट स्ट्राइक हान्ने र म्युजिक नेपालमा गीत हटाउन निवेदन दिनेसम्मका कार्य गरी अपराधलाई निरन्तरता दिएको अभियोग पत्रमा उल्लेख छ।

पब्लिशर राइट्सको गैरकानुनी हस्तान्तरण र रोयल्टी चोरी

स्रष्टाले आफ्नो प्राकृतिक अधिकारका रूपमा रहेको ‘पब्लिशर राइट्स’ कसैलाई पनि हस्तान्तरण नगरेको अवस्थामा सगरमाथा डिजिटलले सो अधिकार आफूमा निहित रहेको झुठो दाबी गरी म्युजिक नेपाललाई हस्तान्तरण गरेको थियो । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका अनुसार पनि प्रतिवादीले स्रष्टाले पाउनुपर्ने अविभाज्य रोयल्टीमाथि हक दाबी गरी झुक्याएर रकम बुझी लगेको पुष्टि भएको छ ।

प्रतिवादीको इन्कारी र कानुनी मागदाबी

प्रहरी अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी हिरा बहादुर के.सी.ले आफूले गीतका शब्दहरू खरिद गरेको वा पारिश्रमिक दिएको भन्दै परस्पर बाझिने लिखित बयान दिएका छन् । उनले आफूले कुनै ठगी नगरेको र यो केवल दुई पक्षबिचको सामान्य लेनदेन/कारोबार सम्बन्धी विवाद मात्र भएको दाबी गर्दै कसूर इन्कार गरेका छन् ।

तथापि, मिसिल संलग्न प्रमाणहरूका आधारमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले प्रतिवादी विरुद्ध निम्न अनुसारको मागदाबी लिएको छ:

प्रतिलिपि अधिकार उल्लङ्घन तर्फ: प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५(१)(क) को कसूरमा सोही ऐनको दफा २७(१) बमोजिम रु. १०,०००/- देखि रु. १,००,०००/- सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र गैरकानुनी सामग्री जफत ।

ठगी कसूर तर्फ: मुलुकी अपराध संहिता, २०७४ को दफा २४९(३)(ग) बमोजिम ७ वर्षसम्म कैद र रु. ७०,०००/- सम्म जरिवाना ।

बिगो तथा क्षतिपूर्ति: म्युजिक नेपालबाट प्राप्त विवरण अनुसारको रु. ३९,२४,४९७/- बिगो, सोको कानुन बमोजिम हुने ब्याज, र स्रष्टाको ख्याति मेटाइएकोमा मनासिब क्षतिपूर्ति प्रतिवादीबाट जाहेरीवालालाई भराउन माग गरिएको छ ।

हाल प्रतिवादी अदालतमा अनुपस्थित रहेकाले काठमाडौँ जिल्ला अदालतबाट म्याद समाह्वान जारी गरी कारबाही अघि बढाउन अनुरोध गरिएको छ।

अर्को पनि मुद्दा 

यसअघि भदाै ३१ गते पनि केसीबिरूद्ध अर्को ठगीको मुद्दा जिल्ला अदालतमा गीतकार सरोज केसीका गीत तथा गजल अनधिकृत रूपमा बिक्री–वितरण गरी आम्दानी र रोयल्टी लुकाएको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक केसीविरुद्ध मुद्दा दर्ता भएको छ ।

मुद्दामा म्युजिक नेपालबाट प्राप्त वित्तीय विवरणअनुसार सरोज केसीले आफ्ना सिर्जनाहरू प्रसारण तथा प्रयोग भएबापत २० लाख ३ हजार सात १७ रूपैयाँ पैसा रोयल्टी पाउनुपर्ने देखिएको अभियोगपत्रमा उल्लेख छ। योसँगै गीत संगीतको नेपालको प्रतिलिपि अधिकारको मुद्दाहरूको रेकर्ड हेर्दा अहिलेसम्मकै सबै बढी बिगो दाबी गरिएको मुद्दाको प्रतिवादी हीरा केसी बनेका छन ।

यो पनि पढ्नुहोस्

सगरमाथा डिजिटलका सञ्चालक हिराबहादुर केसीविरुद्ध ठगी मुद्दा

प्रकाशित मिति : September 20, 2026 at 7:38 am