सगरमाथा डिजिटलका सञ्चालक हिराबहादुर केसीविरुद्ध मुद्दा
२ असोज, काठमाडाैँ । गीतकार सरोज केसीका गीत तथा गजल अनधिकृत रूपमा बिक्री–वितरण गरी आम्दानी र रोयल्टी लुकाएको आरोपमा सगरमाथा डिजिटल प्रालिका सञ्चालक हिराबहादुर केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले केसीविरुद्ध प्रतिलिपि अधिकार उल्लंघन, ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको हो। जिल्ला न्यायाधिवक्ता गोविन्दप्रसाद हुमागाईंले गत भदौ २९ गते अभियोगपत्र दायर गरेका हुन्।
अभियोगपत्रअनुसार हिराबहादुरले गीतकार सरोज केसीका सिर्जनाहरू उनको अनुमति नलिई विभिन्न माध्यमबाट बिक्री तथा वितरण गरी त्यसबाट प्राप्त आम्दानी र रोयल्टीको वास्तविक विवरण नदेखाएको आरोप छ।

अनुसन्धानका क्रममा म्युजिक नेपालबाट प्राप्त पत्र तथा वित्तीय विवरणमा सरोज केसीका सिर्जनाहरू सगरमाथा डिजिटलले म्युजिक नेपाललाई उपलब्ध गराएको र त्यसबापत प्राप्त हुने आम्दानी तथा रोयल्टी उपलब्ध गराउने जिम्मेवारी सगरमाथा डिजिटलको रहेको देखिएको सरकारी वकील कार्यालयको दाबी छ।
म्युजिक नेपालबाट प्राप्त वित्तीय विवरणअनुसार सरोज केसीले आफ्ना सिर्जनाहरू प्रसारण तथा प्रयोग भएबापत १६ लाख ५५ हजार ५० रुपैयाँ ६२ पैसा रोयल्टी पाउनुपर्ने देखिएको अभियोगपत्रमा उल्लेख छ।
तर सिर्जनाहरू विभिन्न माध्यमबाट बिक्री तथा वितरण गरी आम्दानी प्राप्त गरे पनि उक्त रोयल्टी गीतकारलाई भुक्तानी नगरिएको अभियोजन पक्षको दाबी छ।
‘गीत खरिद गरेर प्रसारण गरेको हुँ’
प्रतिवादी हिराबहादुर केसीले भने आफूले सरोज केसीलगायत व्यक्तिहरूबाट केही गीत खरिद गरेको र त्यसबापत रकमसमेत भुक्तानी गरेको बयान दिएका छन्।
उनले ‘तिम्रो दिलमा चोट लाग्दा’ लगायत आठवटा गीत खरिद गरेको र त्यसबापत सरोजलाई २०६९ सालतिर २५ हजार रुपैयाँ भुक्तानी गरेको बयान दिएका छन्।
गीत खरिद गरेपछि सीडी, अडियो तथा डिजिटल माध्यमबाट प्रसारण गरेको र त्यसबाट कम्पनीले आम्दानी गरेको स्वीकार गरे पनि सरोजलाई ठगी वा आपराधिक विश्वासघात गरी रकम हिनामिना नगरेको उनको दाबी छ।
तर अनुसन्धानबाट प्राप्त कागजात र वित्तीय विवरणले सिर्जनाबाट आम्दानी भएको देखिएको भन्दै सरकारी वकील कार्यालयले उनको दाबीलाई अभियोगपत्रमा स्वीकार गरेको छैन।
संगीतकार श्रेष्ठको बयानले पनि देखायो विवाद
अनुसन्धानका क्रममा बयान दिएका संगीतकार सन्तोष श्रेष्ठले ‘तिम्रो दिलमा चोट लाग्दा’ गीतको सिर्जना तथा लगानी गीतकार सरोज केसी र आफ्नो रहेको बताएका छन्।
श्रेष्ठका अनुसार सरोजको अधिकार सगरमाथा डिजिटललाई हस्तान्तरण हुने गरी आफूले कुनै सम्झौता गरेका थिएनन्। २०६९ साल साउन ७ गते सम्झौता हुँदा आफू पनि उपस्थित रहेको र त्यसअघि गीतबाट आम्दानी भए–नभएकोबारे सरोजले सोध्दा हिराबहादुरले आम्दानी नभएको बताएका थिए।
तर पछि म्युजिक नेपालबाट प्राप्त कागजात हेर्दा उक्त गीतबाट आम्दानी भएको जानकारी खुलेको श्रेष्ठको बयानमा उल्लेख छ।
त्यस्तै संगीतकार लोकराज अधिकारी, भद्रबहादुर वलीलगायतले पनि सरोज केसीका सिर्जनाहरू अनुमति बिना बिक्री तथा वितरण गरी आर्थिक लाभ लिएको दाबी गरेका छन्। उनीहरूले यसबाट करिब ३५ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताएका छन्।
३५ लाख बिगो कायम गर्न माग
सरकारी वकील कार्यालयले हिराबहादुर केसीले सरोज केसीका निजी बौद्धिक सिर्जना गीत तथा गजल अनुमति नलिई बिक्री तथा वितरण गरेको देखिएको भन्दै प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा २५(१)(क) बमोजिमको कसूर भएको दाबी गरेको छ।
त्यस्तै सिर्जनाबाट प्राप्त आम्दानीको वास्तविक विवरण नदेखाई लुकाएर आर्थिक लाभ लिएको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २५२ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसूरसमेत गरेको अभियोजन पक्षको निष्कर्ष छ।
एउटै घटनाबाट प्रतिलिपि अधिकार उल्लंघन, ठगी र आपराधिक विश्वासघात भएको भन्दै सरकारी वकील कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ बमोजिम एकीकृत कसूर कायम गरी थप सजायको मागदाबी गरेको छ।
अभियोगपत्रमा प्रतिलिपि अधिकारसम्बन्धी कसूरमा १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था उल्लेख गरिएको छ। ठगीतर्फ सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना तथा आपराधिक विश्वासघाततर्फ कानुनबमोजिमको सजाय माग गरिएको छ।
अभियोजन पक्षले सरोज केसीका सिर्जनाबाट आर्जित सम्पूर्ण आम्दानी, रोयल्टी तथा अन्य आर्थिक लाभको हिसाब गरी ३५ लाख रुपैयाँ बिगो कायम गर्न माग गरेको छ। उक्त बिगो रकमसँगै कानुनबमोजिमको क्षतिपूर्ति पीडितलाई भराउनसमेत मागदाबी गरिएको छ। अब उक्त अभियोगमाथि काठमाडौं जिल्ला अदालतबाट न्यायिक प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित मिति : September 18, 2026 at 12:09 pm




