समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
२ असाेज, काठमाडाैं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँचवटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गरेको छ। संस्थाहरूको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट संकलित रकममार्फत बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ।
समितिका अनुसार पहिलो चरणमा कम बचत रकम भएका साना बचतकर्ताहरूलाई प्राथमिकता दिँदै रकम भुक्तानी गरिएको हो। शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना गरी कुल १३५ जना साना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समितिले बचत रकमको परिमाणका आधारमा बचतकर्ताहरूको वर्गीकरण गरी क्रमशः बाँकी बचतकर्ताहरूको रकम पनि फिर्ता गर्दै जाने बताएकाे छ।
प्रकाशित मिति : September 18, 2026 at 11:27 am




