२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

माथिल्लो त्रिशूली–१ को डिसेन्डरबाट थप दुई शव निकालिए, अझै ५४८ जना सम्पर्कविहीन

२२ भदाै, काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका जलविद्युत् आयोजनाका कर्मचारी, प्राविधिक तथा श्रमिकको खोजी कार्य अझै जारी छ । बाढी आएको १२ दिन बितिसक्दा पनि धेरै आयोजनामा बेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन।

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको भूमिगत डिसेन्डरबाट आइतबार थप दुईजनाको शव निकालिएको छ। उद्धार टोलीले भूमिगत संरचनाभित्र खोजी गर्ने क्रममा दुई शव फेला पारेको आयोजनाका प्रोजेक्ट म्यानेजर गिरिराज अधिकारीले जानकारी दिए।

यसअघि आयोजनाको टनेलबाट शनिबार दुई, शुक्रबार छ र १२ भदौमा एकजनाको शव निकालिएको थियो। शनिबार भने एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न टोली सफल भएको थियो।

आयोजनामा अझै ५४८ जना सम्पर्कविहीन रहेको बताइएको छ। तीमध्ये करिब तीन सयजना सुरुङभित्र फसेको हुन सक्ने अनुमान गरिएको छ। आइतबार नेपाली सेनासहित विदेशी उद्धार टोलीले थर्मल क्यामेरा प्रयोग गरी सुरुङभित्र खोजी गरेको थियो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार आयोजनाका ११० मिटर लामो तीनवटा डिसेन्डर बेसिनमा खोजी कार्य गरिएको छ। आइतबार इन्फ्रारेड (आईआर) ड्रोन प्रयोग गरी डिसेन्डर बेसिनको विस्तृत खोजी गरिएको थियो।

खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियन र शेर्पा टोली तथा तालिमप्राप्त सर्च डग परिचालन गरिएको छ। सोमबार अडिट नम्बर ३ सुरुङबाट माथिल्लो भागतर्फ खोजीलाई थप तीव्र बनाउने तयारी गरिएको सम्बन्धित कम्पनीले जनाएको छ।

रसुवा भोटेकोशीमा पनि शव भेटियो

१२० मेगावाट क्षमताको रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा आइतबार थप एकजनाको शव फेला परेको छ। आयोजनामा अझै तीनजना सम्पर्कविहीन छन्। १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी, इन्जिनियर, प्राविधिक र श्रमिक सम्पर्कविहीन भएका छन्।

लाङटाङ खोलामा खोजी बन्द

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा भने खोज तथा उद्धार कार्य बन्द गरिएको छ। सुरुङभित्र खोजी गर्दा दुईजनाको शवबाहेक अन्य व्यक्ति फेला नपरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी स्थगित गरेको इप्पानले जनाएको छ।

१८ भदौमा पेनस्टक पाइप काटेर सुरुङभित्र प्रवेश गरी गरिएको खोजीका क्रममा दुई शव भेटिएका थिए। ती दुवै शवको पहिचान हुन बाँकी छ। आयोजनामा कार्यरत ३९ जना अझै सम्पर्कविहीन छन्। यसअघि सुरक्षित स्थानमा पुगेका १९ जनाको उद्धार गरिएको थियो।

माथिल्लो त्रिशूली–३ ‘ए’ मा पनि खोजी जारी

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा शुक्रबार दुईजनालाई जीवितै उद्धार गरिएको थियो। सोही दिन सुरुङभित्र एक शव पनि फेला परेको थियो। आइतबारसम्म थप उद्धार हुन सकेको छैन।

आयोजनामा अझै ३९ जना सम्पर्कविहीन छन्। पावरहाउस तथा सुरुङ क्षेत्रमा नेपाली सेनाको टोलीले उद्धार सामग्रीसहित खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

माथिल्लो त्रिशूली–३ ‘बी’ का २०० जना सम्पर्कविहीन

माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना कर्मचारी सम्पर्कमा आएका छन्। त्यसपछि आयोजनामा सम्पर्कविहीनको संख्या दुई सयमा झरेको छ।

निर्माणाधीन आयोजनाका अधिकांश संरचना भूमिगत छन्। बाँधबाहेकका संरचना भूमिगत रहेकाले उद्धारका लागि सुरुङमार्गबाट प्रवेश गर्ने प्रयास भइरहेको छ। आयोजनाको विद्युत्गृह रहेको स्थान पहिचान भइसकेको छ भने बाहिर रहेको कर्मचारी आवास क्षेत्र पनि पहिचान गरिएको छ। त्यहाँसम्म पुग्न पहुँचमार्ग निर्माण भइरहेको छ।

नेपाली सेनाका अनुसार अडिट–२ बाट प्रवेश गरेको टोली अडिट–१ बाट बाहिर निस्किएको छ। अडिट–२ सुरुङबाट एक्स्काभेटर लैजान सकिने गरी बाटो सफा गर्ने काम भइरहेको छ। हालसम्म खोजीका क्रममा थप व्यक्ति फेला परेका छैनन्। सोमबार पुनः खोजीलाई निरन्तरता दिने तयारी छ।

रसुवागढीमा लेदोले भरिएको विद्युत्गृह

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन्। आइतबार पनि खोज तथा उद्धार टोलीले पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरेको नेपाली सेनाले जनाएको छ।

विद्युत्गृहको चार तल्लासम्म तथा कन्ट्रोल रुममा बाढीले ल्याएको माटो, हिलो र लेदो थुप्रिएको पाइएको छ। उद्धार टोलीले त्यसलाई हटाउँदै खोजी अघि बढाइरहेको छ।

चिलिमेमा उपकरण प्रयोग गरेर लेदो हटाउने काम

चिलिमे जलविद्युत् आयोजनामा आठजना अझै बेपत्ता छन्। आइतबार पनि खोजीबाट नयाँ उपलब्धि हासिल हुन सकेन।

विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर र पम्पको प्रयोग गरी सुरुङमा जमेको लेदो हटाउने काम गरिरहेको छ। हेलिकोप्टरबाट स्याफ्रुबेँसीमा झारिएको एक्स्काभेटरलाई टनेल क्षेत्रमा लैजाने काम भइरहेको नेपाली सेनाले जनाएको छ।

त्यस्तै, पाँच मेगावाटको मैलुङ जलविद्युत् आयोजनाको विद्युत्गृह बाढीले बगाएपछि त्यहाँ कार्यरत सातजनाको अवस्था अझै अज्ञात छ।

अन्य आयोजनामा पनि कर्मचारी बेपत्ता

बाढीका कारण १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा तीन, २४ मेगावाटको त्रिशूली जलविद्युत्मा तीन, १४.१ मेगावाटको देवीघाट जलविद्युत्मा एक तथा १५.६ मेगावाटको मिडिल त्रिशूली जलविद्युत्मा दुईजना सम्पर्कविहीन छन्।

यस्तै, त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा कार्यरत १६ जना, चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइनका दुईजना तथा रसुवा वितरण केन्द्रका एकजना पनि सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ।

बाढीबाट प्रभावित आयोजनामा खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विदेशी प्राविधिक, ड्रोन टोली, सर्च डग तथा विभिन्न उपकरण परिचालन गरिए पनि जोखिमपूर्ण भौगोलिक अवस्था, सुरुङभित्र जमेको लेदो र भौतिक संरचनामा भएको क्षतिका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

प्रकाशित मिति : September 7, 2026 at 7:52 am