त्रिशुली थ्री ए को सुरुङमा रहेका सबै सकुशल, केहीबेरमा बाहिर निकालिदै
१९ भदाै, नुवाकोट । माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएसँगै दोहोरो कुराकानी समेत भएको पुष्टि भएको छ । उद्धारस्थलबाट उद्धारकर्मीको भनाइ उधृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समेत रहेका इन्जिनियर श्रीराम न्याैपानेले यसको पुष्टि गरेका छन ।
उनले फेसबुक मार्फत भनेका छन, ‘उद्दार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।’
सामूहिक स्वरमा हुन्छ भनेकाले सुरूङमा फसेका सबै सकुशल रहेको अनुमान गरिएको छ । अब केही बेरमा उनीहरूलाई सकुशल बाहिर निकालिने छ । योसँगै भोटेकोशी बाढीको १० औँ दिनको बिहानै उद्धारकर्मीले पीडित परिवारका लागि खुशी दिएका छन ।

न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु र दोहोरो कुराकानी हुनुले उद्धारको आशा जगाउने महत्वपूर्ण संकेत भएको उनले बताएका छन् ।
भोटेकोशी बाढीपछि आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्रबाट मानिसको आवाज आएको सूचनाले भने उद्धारमा खटिएका टोली तथा आफन्तमा नयाँ आशा जगाएको छ।
प्रकाशित मिति : September 4, 2026 at 7:18 am


