बाढी–पहिरोले थलिएका जनतालाई ग्यासमा पनि थप भार, प्रति सिलिन्डर १०५ रुपैयाँ बढ्यो मूल्य
१८ भदौ, काठमाडौं । बाढी र पहिरोले सडकदेखि घरबारसम्म प्रभावित भइरहेका बेला उपभोक्तामाथि खाना पकाउने एलपी ग्यासको थप आर्थिक भार परेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा आएको बाढी र पहिरोका कारण नियमित ढुवानी प्रभावित भएपछि ग्यास उद्योगीले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप ढुवानी खर्च उपभोक्ताबाट असुल्ने भएका छन् ।
नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण गरेको एलपी ग्यास अब काठमाडौं उपत्यकामा अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा बिक्री हुने भएको छ । योसँगै बाढीपहिरोले उत्पन्न गरेको समस्या र त्यसबाट बढेको ढुवानी खर्चको प्रत्यक्ष भार उपभोक्ताको भान्सासम्म पुगेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै थप रकम लिन पाउने व्यवस्था गरेको जनाएको छ । संघको ३१औँ वार्षिक साधारणसभाले काठमाडौं उपत्यकामा ग्यास बिक्री–वितरण गर्ने उद्योगहरूलाई निगमले तोकेको मूल्यमा अधिकतम १०५ रुपैयाँ ३८ पैसा थप गरी बिक्री गर्न आग्रह गरेको हो ।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुर्याएपछि काठमाडौं उपत्यकामा ग्यासको नियमित आपूर्ति प्रभावित भएको थियो । सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास आपूर्ति कायम राख्न तराईका विभिन्न जिल्लामा रहेका उद्योगबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था गरिएको थियो ।
संघका अनुसार मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउनुपर्ने अवस्था आएको छ । हेटौंडास्थित सहारा ग्यास उद्योगबाट वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउँदा दूरी करिब १३१ किलोमिटर पुग्ने र त्यसका लागि प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा अतिरिक्त ढुवानी खर्च लाग्ने संघको भनाइ छ । त्यसमा नियमअनुसार कर जोड्दा १०५ रुपैयाँ ३८ पैसा पुगेको संघले जनाएको छ ।

बाढीपहिरोका कारण आफैं महँगी, अभाव र असहजताको सामना गरिरहेका उपभोक्तामाथि ग्यासको मूल्यसमेत बढेपछि दैनिक उपभोगको खर्च थप बढ्ने भएको छ । विशेषगरी विपद्का कारण आयस्रोत प्रभावित भएका परिवारका लागि खाना पकाउने ग्यासमा थपिएको यो रकम पनि अतिरिक्त बोझ बन्ने देखिएको छ ।
ग्यास उद्योगीहरूले भने आफूहरूले मनलाग्दी मूल्य बढाएको नभई वैकल्पिक ढुवानीमा लागेको अतिरिक्त खर्चको केही हिस्सा मात्र उपभोक्ताबाट लिन थालेको दाबी गरेका छन् । नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा वास्तविक अतिरिक्त खर्च प्रतिसिलिन्डर २०० रुपैयाँभन्दा बढी पर्ने भए पनि प्रचलित व्यवस्था र निगमसँगको सहमतिअनुसार १०५ रुपैयाँ ३८ पैसामात्र थप गरिएको बताए ।
नेपाल आयल निगमले पनि उद्योगदेखि ५० किलोमिटर दूरीसम्मको ढुवानीलाई आधार बनाएर ग्यासको मूल्य निर्धारण गर्ने र त्योभन्दा बढी दूरीमा ढुवानी गर्नुपरेमा अतिरिक्त भाडा उद्योगीले जोडेर लिन पाउने व्यवस्था रहेको जनाएको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले ५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा अतिरिक्त ढुवानी भाडा लिन पाउने व्यवस्था विगतदेखि नै रहेको बताए । उनका अनुसार अहिलेको अवस्थामा वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने भएकाले उक्त प्रावधानअनुसार अतिरिक्त ढुवानी खर्च जोडिएको हो ।
यद्यपि बाढीपहिरोको प्रत्यक्ष असर खेपिरहेका उपभोक्ताका लागि ग्यासको मूल्य वृद्धि अर्को चुनौती बनेको छ । विपद्को समयमा राहत र सहुलियतको अपेक्षा गरिरहेका नागरिकले दैनिक जीवनमा अत्यावश्यक वस्तुमै थप मूल्य तिर्नुपर्ने अवस्था आएको छ ।
संघले भने असहज परिस्थितिमा आपूर्ति व्यवस्थापन सहज बनाउन वैकल्पिक मार्गबाट ग्यास ल्याउने व्यवस्था गरिएको भन्दै उपभोक्तालाई तोकिएकोभन्दा बढी मूल्य नतिर्न आग्रह गरेको छ । साथै, तत्कालको विषम परिस्थितिलाई ध्यानमा राख्दै नयाँ सिलिन्डरको बजारीकरण नगर्न तथा नगराउन उद्योगी र बिक्रेतालाई आग्रह गरेको छ ।
सडक अवरोधका कारण सुरु भएको ढुवानी समस्या अब उपभोक्ताको भान्सासम्म पुगेको छ । विपद्ले जनधन र पूर्वाधारमा क्षति पुर्याइरहेका बेला त्यसको आर्थिक भारसमेत क्रमशः सर्वसाधारणको दैनिक जीवनमा थपिँदै गएको छ ।

प्रकाशित मिति : September 3, 2026 at 11:49 pm


