समाचारमा तीन वटा स्काभेटर चलेपनि फिल्डमा एउटामात्र छः इन्जिनियर मगर
१६ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा पाँच दिनअघि आएको विनाशकारी बाढीले देशभर शोकमा डुबिरहेका बेला माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका कामदारको उद्धारमा सरकारी निकायबीच समन्वय र आवश्यक उपकरणको अभाव देखिएको छ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको आयोजनाको सुरुङमा तीन दिनदेखि फसेकाहरूलाई उद्धार गर्न प्राविधिक र इन्जिनियरहरू रातदिन खटिए पनि आवश्यक एक्साभेटर, ब्रेकर, जेनेरेटर र पानी तान्ने पम्पलगायतका साधन पर्याप्त उपलब्ध हुन नसकेको उनीहरूको गुनासो छ।
उद्धारमा खटिएका नेपाल विद्युत प्राधिकरणका इन्जिनियर प्रणय मगरले त झन् फिल्डको अवस्था र बाहिर प्रचार गरिएको सूचनाबीच ठूलो अन्तर रहेको बताएका छन्। उनका अनुसार बाहिर ‘तीनवटा एक्साभेटर दिनरात चलिरहेको’ भनेर सूचना प्रवाह भए पनि वास्तविकतामा फिल्डमा एउटा एक्साभेटर मात्र चलेको थियो।
‘तीनवटा एक्साभेटर दिन रात चल्यो तर न्युजमा मात्र चल्यो। फिल्डमा एउटा मात्र चल्यो’, सुरुङको मुख खोल्नका लागि स्थलगत रुपमा खटिएका इन्जिनियर मगरले भनेका छन्।
उद्धारका लागि पहिलो दिनदेखि नै तीन–चारवटा एक्साभेटर र एउटा ब्रेकर माग गरिए पनि सरकारले आवश्यक संख्यामा उपकरण उपलब्ध नगराएको प्राविधिकहरूको गुनासो छ। पर्याप्त उपकरण उपलब्ध भए पाँच दिनदेखि सुरुङमा फसेका आफ्ना सहकर्मीलाई उद्धार गर्न सकिने उनीहरूको दाबी छ।
इन्जिनियर मगरले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी मन्त्री तथा सांसदहरूलाई प्राविधिकको सुझावअनुसार उद्धार अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।
‘हेलो माननीय ज्यूहरू मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस्। आफ्नो तरिकाले काम गर्नुस्’
ज्यानको बाजी लगाएर सुरुङमा फसेका आफ्ना साथीहरूको उद्धारमा खटिएका मगरले आवश्यक उपकरण तत्काल साइटमा उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेका छन्।
‘जे आवश्यक छ त्यो सामानहरु प्लिज प्लिज प्लिज साइडमा उपलब्ध गराइदिनुस् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्’,
उनले उद्धारमा थप ढिलाइ नगर्न मन्त्रीहरूसँग हारगुहार गरेका छन्।
प्राविधिकहरूका अनुसार सोमबार राति ११ बजेसम्म पनि सुरुङभित्र जान सक्ने गरी आवश्यक ‘एक्सेस’ बनाउन सकिएको थिएन। सुरुङको मुखबाट प्रवेश गर्ने अवस्था कठिन भएपछि वैकल्पिक बाटोबाट उद्धार गर्ने प्रयास भइरहेको छ।

मगरका अनुसार सुरुङभित्र बाक्लो रूपमा रिबहरू राखिएका छन्। ती रिबमा टाइरडसमेत अत्यन्त बाक्लो भएकाले मानिस छिर्न मिल्ने ‘होल’ बनाउन रिबार काट्ने काम भइरहेको छ।
सोमबार बिहान ३ बजेसम्म पनि सुरुङभित्र प्रवेश गर्ने कुनै एक्सेस बनाउन नसकिएको उनले बताएका छन्।
सुरुङभित्र पानीसमेत रहेकाले त्यसलाई सुकाउन जेनेरेटर र पम्प आवश्यक भए पनि सरकारले आवश्यक व्यवस्था गर्न नसक्दा उद्धार कार्य प्रभावित भएको प्राविधिकहरूको गुनासो छ।
मन्त्री, सांसदको सूचना र फिल्डको वास्तविकताबीच फरक
उद्धारमा खटिएका प्राविधिकहरूले सरकारी मन्त्री र सांसदहरूले आमसञ्चारका माध्यमबाट ‘त्रिशूली थ्री एमा टनेल खोलियो’, ‘टनेलभित्र अक्सिजन पठाइयो’ लगायतका सूचना प्रवाह गरेको तर फिल्डको वास्तविकता त्यसको ठीक विपरीत रहेको बताएका छन्।
इन्जिनियर मगरले आफू घटनास्थलमै रहेर सूचना दिइरहेको भन्दै गलत सूचना नदिन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म चाहिँ जहाँ काम भइरहेको छ त्यहीबाट अपडेट गरिरहेको छु। कुने किसिमको अक्सिनज पठाउन सकिएको छैन। प्लीज कसैले पनि गलत न्युज दिएर यो अवस्थामा कसैलाई पनि धोका नदिनुहोला।’
उद्धारका लागि आयोजनाको पोर्टलबाट सुरुङभित्र प्रवेश गर्ने ‘एक्सेस’ खोल्न नसकिने अवस्था आएपछि पोर्टलभन्दा करिब १० मिटर पछाडि सुरुङको माथिबाट मानिस पस्न सक्ने होल बनाउने प्रयास गरिएको थियो। त्यसका लागि आइतबार पहिलोपटक विष्फोट गराइए पनि उक्त प्रयास सफल हुन सकेन।
प्राविधिकहरूका अनुसार अहिले मुख्य चुनौती सुरुङसम्म पुग्ने सुरक्षित बाटो बनाउनु र त्यसका लागि आवश्यक उपकरण तथा जनशक्ति तत्काल परिचालन गर्नु हो।
उद्धारमा प्रत्यक्ष खटिएका प्राविधिकहरूले नै पर्याप्त उपकरण उपलब्ध नभएको र फिल्डको वास्तविक अवस्थाभन्दा फरक सूचना सार्वजनिक भइरहेको गुनासो गरिरहेका बेला ‘तीनवटा एक्साभेटर दिनरात चलिरहेको’ भन्ने दाबीले सरकारी सूचना प्रणाली र घटनास्थलको वास्तविकताबीचको दूरीसमेत उजागर गरेको छ।
पाँच दिनदेखि सुरुङभित्र रहेका कामदारहरूको अवस्था के छ भन्नेबारे परिवार र सहकर्मीहरू चिन्तित छन्। उनीहरूको उद्धारका लागि आवश्यक सबै साधन तत्काल उपलब्ध गराउन प्राविधिकहरूले सरकारसँग आग्रह गरिरहेका छन्।
धन्यवाद।

प्रकाशित मिति : September 1, 2026 at 7:23 am


