२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

देउवालाई विश्वप्रकाशको सुझावः पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस्

२९ साउन, काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई विधि र पद्धतिअनुसार आत्मसात गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई प्रक्रियागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उनले देउवाबाट सबै पक्षलाई समेट्ने र पार्टीमा एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताए ।

देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्दै युवालाई अगाडि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै शर्माले उक्त विषयलाई पार्टीको आगामी सम्मेलनको केन्द्रमा राख्नुपर्ने बताए ।

शर्माले भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवा हिजो काठमाडौं फर्किनुभयो। हामीले स्वागत पनि गर्‍यौं, केन्द्रीय समितिमा सभापति गगन थापा बोलेर र निर्णयबाट। यो बेला हाम्रो अपेक्षा थियो निर्वतमान सभापतिले भनिदिनुपर्थ्यो- म लामो समयपछि देश फर्केको छु, म सबैको सुन्न चाहन्छु, यो बेला सबै एक हुन जरूरी छ। यद्यपि उहाँको लिखित अभिव्यक्तिमा आएको छऔ परिवर्तन आत्मसात् गर्ने कुरा र युवा अघि बढाउने कुरा। यो दुवै कुरामा कांग्रेस अहिले छ। उहाँ स्वयमले व्यक्त गरेको त्यो अभिमत अहिले हुँदै गरेको सम्मेलनमा पनि केन्द्रमा राखियोस्।’

उनले ३६ वर्षको युवक देशको प्रधानमन्त्री बनेको इतिहासलाई स्वीकार गरिसकेको अवस्थामा ५० वर्ष हाराहारीका युवाले पार्टीको नेतृत्व गर्ने विषयलाई पनि सहज रूपमा स्वीकार गर्नुपर्ने बताए । विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्दा पार्टीभित्र गम्भीर प्रश्न उठ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : August 14, 2026 at 2:22 pm