१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

 १८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सरकारले महँगी नियन्त्रण गर्न र अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद रोकायाले बढ्दो महँगीका कारण सर्वसाधारणलाई दैनिक चुलो–चौको चलाउनै कठिन हुन थालेको बताए । उनले छिमेकी मुलुकमा मूल्य घटिसक्दा पनि नेपालमा एलपी ग्यासको मूल्य नघटाइएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले एलपी ग्यासको अभावका कारण धेरै नागरिकले खाना पकाउनसमेत समस्या भोगिरहेको उल्लेख गर्दै ग्यासको सहज आपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रोकायाले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै महँगी नियन्त्रण, उपभोग्य वस्तुको मूल्य स्थिर राख्ने तथा एलपी ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : August 3, 2026 at 4:10 pm