शुक्रबार घुस खाने चार कर्मचारी एकै ठाउँमा च्याप्प
१६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका चार जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार भूमि प्रशासन कार्यालय, लगनखेलका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा अर्का एक नायब सुब्बा र लेखापढी व्यवसायी शैलेन्द्र रानामगर तथा समिर कटवालले मिलेमतो गरी जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

सोही सूचनाका आधारमा आयोगको टोलीले साउन १५ गते ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट उनीहरूलाई सेवाग्राहीबाट घुसस्वरूप लिइएको ३ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो। टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको थप २४ हजार ८९० रुपैयाँ पनि बरामद गरेको जनाएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति : August 1, 2026 at 1:24 pm



