देवानगञ्ज घटनाः मदरसाको कानुनी हैसियत र अन्य विषयमा अनुसन्धान हुने
१५ साउन, सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानगाछीमा गत साउन १० गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच सात बुँदे सहमति भएको छ।
शुक्रबार भएको सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सहमतिपत्रमा उक्त घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ। साथै, देवानगञ्ज गाउँपालिका–३, कमानगाछीस्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक अनुसन्धान सुरु गर्ने सहमति पनि भएको छ।

त्यसैगरी, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सहमतिपत्रमा पहिलो पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक तथा मृतक जयप्रकाश मेहताका अभिभावकले हस्ताक्षर गरेका छन् भने दोस्रो पक्षका तर्फबाट गृहमन्त्री सुधन गुरूङले हस्ताक्षर गरेका छन् । सहमतिपछि मृतकको शव आज (साउन १५ गते) दिउँसो २ बजे उठाउने सहमति पनि भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : July 31, 2026 at 6:14 am



