१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

आपसी सद्‌भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान

१४ साउन, काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्‌भाव कायम राख्न आग्रह गरेका छन् ।

निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्‌भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।

dainiki.com

जारी सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो ।’

नेपालको गौरव र पहिचान नै बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतामा रहेको उल्लेख गर्दै उनले यस विशिष्ट गुणलाई गुम्न दिन नहुनेमा जोड दिएका छन् । ‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एक अर्कामा माया- प्रिती गाँसी बसेका जातजाति हौं’, सन्देशमा भनिएको छ, ‘कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन ।’

प्रकाशित मिति : July 30, 2026 at 4:38 pm