नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?
११ साउन, काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि सोमबार उद्घाटन गरिएको हो ।
नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका हुन् । सुरुङमार्गमा केही समयसम्म अत्यावश्यक र आपत्कालीन सवारीसाधन सञ्चालन हुन पाउने भएका छन्। केही समयपछि अन्य सवारीलाई पनि खुल्ला गरिने नागढुंगा सुरुङमार्ग परियोजनाले जनाएको छ।
सवारीसाधन चल्न पाउने भएपछि यसबापत उनीहरुले निश्चित रकम सवारीअनुसार दस्तुरबापत तिर्नुपर्नेछ। यो सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले राजपत्रमा सूचना गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । जसअनुसार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० तोकिएको छ ।
यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० तोकिएको छ ।
प्रकाशित मिति : July 27, 2026 at 1:50 pm



