७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

७ साउन, झापा । अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई प्रमाण पुर्जा वितरण गरिन् ।

पुर्जा वितरण गर्दै उनले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन् । उनले भनिन्, “वर्षौंदेखि आफ्नो थातथलोमा बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गर्नु  खुसीको विषय हो ।”

dainiki.com

उनले लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले जारी गरेको निर्देशिकाअनुसार लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका वास्तविक लाभग्राहीलाई मात्र जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरवासीलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको छ, भने । वडा नं ११ मा यसअघि १४४ जना अव्यवस्थित बसोबासीलाई प्रमाण पुर्जा वितरण गरिसकिएको छ । नयाँ सूचीकरणअनुसार अर्जुनधाराका ११ वटै वडामा ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित तथा छ हजार ३५९ अव्यवस्थित बसोबासी रहेका छन् । कार्यक्रममा जनप्रतिनिधि, जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

प्रकाशित मिति : July 23, 2026 at 12:45 pm