दैनिकी समाचार प्रभावः फेक रेस्क्युमा मुछिएका सुवेदीले पाएनन् नियुक्ति
२ साउन, काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक नियुक्तिमा नियुक्त भएर पनि दैनिकीको समाचारका कारण खुमबहादुर सुवेदीले नियुक्ति पत्र नै बुझ्न पाएनन् । उनले नियुक्तिपत्र बुझ्न नपाएपछि आफूले नियुक्ति अस्वीकार गरेको दाबी गरेका छन ।
दैनिकीले असार ३१ गते बिहान ‘फेक रेस्क्युमा मुछिएका सुवेदीसहित पाँच जना पर्यटन बोर्डको सञ्चालकमा नियुक्त’ शीर्षको समाचार प्रकाशित गरेको थियो । समाचारपछि सुवेदीको चर्को आलोचना भएको थियो भने रास्वापाकै धेरै नेताहरूले पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउँदै उनको नियुक्ति रोक्न दाबब दिएका थिए । सदस्यमा नियुक्त भएका केहीले नियुक्तिपत्र बोकेर गन्तव्यमा पुगिसक्दा पनि सुवेदी भने साथीहरूको बधाई स्वीकार गर्दै अहिलेसम्म नियुक्तिपत्र नपाएको भन्दै थिए । अन्ततः शुक्रबार सुवेदी स्वयंले फेसबुक मार्फत नियुक्तिपत्र नपाएको कुरा फेसबुक मार्फत सार्वजनिक गरे ।
दैनिकीको समाचारपछि सुवेदीको नियुक्तिमा प्रधानमन्त्रीको सचिवालयले पनि चासो लिएको थियो । त्यसपछि बालेनको विश्वासमात्र मानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले निर्णय फिर्ता लिएका थिए ।
फेक रेक्स्युमा जोडिएका सुवेदी सम्भवत बोर्डको उपाध्यक्ष नै बन्न गरी नेपाली कांग्रेस परित्याग गरेर रास्वापा प्रवेश गरेका थिए । सुवेदी नेपाली कांग्रेस धादिङका नेता समेत हुन । उनी कांग्रेसको धादिङ क्षेत्र नं.२ (क) बाट प्रदेश प्रतिनिधि थिए । अब भने उनले फेसबुक मार्फत कुनै पनि पार्टीको सदस्य नबनी काम गर्ने बताएका छन ।

ज्वालामुखी गाउँपालिकाको चैनपुर निवासी सुवेदी विस २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । उनको युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट् रहेको छ । सुवेदीको नियुक्ति बदर भएपछि धादिङका सहदेव धमलाले अवसर पाएका छन । उनी नेकपा निकटका हुन ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत सदस्य छनाैट गर्ने भनिए पनि आस्था र निकटताका आधारमा नियुक्त गरिएको छ । बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको थियो । आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको दाबी सरकारले गरेको छ ।
फेक रेक्स्युमा यसरी जोडिन्छन सुवेदी
टानका तत्कालीन अध्यक्ष खुमबहादुर सुवेदीको अध्यक्षतामा २०७८ पुस ७ गते बसेको ३०औँ कार्य समितिको बैठकले एड्भेन्चर भिक्टोरी नामको कम्पनीलाई ६ लाख ६ हजार रुपैयाँ भुक्तानीका लागि भन्दै नेपाल पर्यटन बोर्डलाई एउटा फाइल सिफारिस गरेको थियो । जुन फेक थियो ।
कम्पनीले अस्ट्रेलियाली नागरिक मिचेल इल्का रोजलाई मेरापिक हिमाल आरोहण गराउने क्रममा आफ्ना ‘गाइड’ छेतेन शेर्पा वेपत्ता भएको र उनको खोजतलासका क्रममा ६ लाख ६ हजार रुपैयाँ खर्च भएको दाबी गर्दै त्यो रकम भुक्तानी मागेर बिलभर्पाइ पेश गरेको थियो सुवेदीले सोही फेक रेस्क्युको भुक्तानीका लागि सिफारिस गरेका थिए ।
यस सम्बन्धमा उकालोमा मुकेश पोखरेलले २०८० माघ १ गते सोमबार पर्यटक उद्धारका नाममा नक्कली कागजात बनाएर भुक्तानी माग्ने ‘धन्दा’ शीर्षकमा सुवेदीको भण्डाफोर गरेका छन ।
हजाराैँ बधाई प्राप्त गरेर पनि नियुक्तिपत्र नपाएपछि सुवेदीले फेसबुक गरेको टिप्पणी
विषय: कृतज्ञता ज्ञापन तथा प्रतिबद्धता /
सबैमा सादर नमस्कार,
हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मलाई नेपाल पर्यटन बोर्ड (NTB) को सदस्यमा मनोनित गरिएको यहाँहरूमा सर्वविदितै छ। यस गरिमामय जिम्मेवारीका लागि मलाई योग्य ठानी छनोट गर्नुहुने सिफारिस समिति प्रति हार्दिक आभार व्यक्त गर्दछु।
यस प्रक्रियामा मलाई विश्वास गरी देश तथा विदेशबाट, विभिन्न संघ-संस्था, व्यावसायिक सहकर्मी एवं आदरणीय मित्रहरूले सामाजिक सञ्जाल र अन्य माध्यमबाट दिनुभएको बधाई तथा शुभकामना प्रति मुरी-मुरी धन्यवाद दिन चाहन्छु। यहाँहरूले देखाउनुभएको यो अगाध माया, सद्भाव र आत्मीयता (Friendship & Fellowship) ले मलाई थप उर्जा प्रदान गरेको छ।
तर, विभिन्न परिस्थितिजन्य कारणवश म नेपाल पर्यटन बोर्डको सदस्यका रूपमा कार्यभार सम्हाल्ने यात्राबाट पछाडि हटेको छु। बोर्डमा नियुक्त हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै एक सफल र सुखद कार्यकालको कामना गर्दछु।
यस निर्णयमा पुग्दै गर्दा मलाई मेरी आदरणीय आमाको भनाइ र आशिर्वादले ठूलो मार्गदर्शन गर्यो। आमाले मलाई सधैं भन्नुहुन्छ– “बाबु, पद र कुर्ची क्षणिक हुन्, तर तिमीले समाज र पर्यटन क्षेत्रमा कमाएको इज्जत, निष्ठा र निस्वार्थ सेवा नै सधैं रहिरहने वास्तविक सम्पत्ति हो।” आमाको यही पवित्र वचनलाई शिरोधार्य गर्दै मैले यो निर्णय लिएको हुँ, जसमा मलाई आत्मिक सन्तुष्टि मिलेको छ।
म यो यात्रामा प्रत्यक्ष रूपमा बोर्डमा नरहे पनि सम्पूर्ण शुभचिन्तकहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। साथै, मलाई अप्रत्यक्ष रूपमा असहयोग गर्न खोज्नेहरूलाई पनि धन्यवाद छ, किनकि यहाँहरूको व्यवहारले मलाई थप परिपक्व र दृढ बन्न प्रेरणा दिएको छ।
म पुनः स्पष्ट पार्न चाहन्छु—मैले कुनै पनि राजनीतिक दलको सदस्यता नलिई नितान्त रूपमा नेपालको पर्यटन उद्योग र व्यवसायको प्रवर्द्धनमा आफूलाई समर्पित रहिरहनेछु। नेपालको पर्यटकीय गतिविधि, आन्तरिक तथा बाह्य पर्यटनको प्रचार-प्रसार र समग्र पर्यटन क्षेत्रको विकासका लागि मेरो रचनात्मक सुझाव, साथ र सहयोग सदैव जारी रहनेछ। पर्यटन क्षेत्रको वृहत्तर हित र विकासमा मेरो सक्रियता उत्तिकै रहनेछ।
प्रकाशित मिति : July 18, 2026 at 10:04 am





