फेक रेस्क्युमा मुछिएका सुवेदीसहित पाँच जना पर्यटन बोर्डको सञ्चालकमा नियुक्त
३१ असार, काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक नियुक्तिमा फेक रेस्क्युमा मुछिएका खुमबहादुर सुवेदी बालेन सरकारको पहिलो रोजाइमा परेका छन । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको विश्वासमात्र मानिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलको सिफारिसमा मन्त्रपरिषद् बैठकले पाँच सञ्चालक नियुक्तिको निर्णय गरेको हो ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत सदस्य नियुक्त गर्ने भनिए पनि आस्था र निकटताका आधारमा नियुक्त गरिएको छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डको सदस्यमा नियुक्त गरेका अन्यमा सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल रहेका छन ।

बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको थियो । आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको दाबी सरकारले गरेको छ ।
फेक रेक्स्युमा जोडिएका सुवेदी सम्भवत बोर्डको उपाध्यक्ष पनि बन्ने छ । सुवेदी नेपाली कांग्रेस धादिङका नेता समेत हुन । उनी कांग्रेसको धादिङ क्षेत्र नं.२ (क) बाट प्रदेश प्रतिनिधि हुन । ज्वालामुखी गाउँपालिकाको चैनपुर निवासी सुवेदी विस २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । उनको युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट् रहेको छ ।
फेक रेक्स्युमा यसरी जोडिन्छ सुवेदी
टानका तत्कालीन अध्यक्ष खुमबहादुर सुवेदीको अध्यक्षतामा २०७८ पुस ७ गते बसेको ३०औँ कार्य समितिको बैठकले एड्भेन्चर भिक्टोरी नामको कम्पनीलाई ६ लाख ६ हजार रुपैयाँ भुक्तानीका लागि भन्दै नेपाल पर्यटन बोर्डलाई एउटा फाइल सिफारिस गरेको थियो । जुन फेक थियो ।
कम्पनीले अस्ट्रेलियाली नागरिक मिचेल इल्का रोजलाई मेरापिक हिमाल आरोहण गराउने क्रममा आफ्ना ‘गाइड’ छेतेन शेर्पा वेपत्ता भएको र उनको खोजतलासका क्रममा ६ लाख ६ हजार रुपैयाँ खर्च भएको दाबी गर्दै त्यो रकम भुक्तानी मागेर बिलभर्पाइ पेश गरेको थियो सुवेदीले सोही फेक रेस्क्युको भुक्तानीका लागि सिफारिस गरेका थिए ।
यस सम्बन्धमा उकालोमा मुकेश पोखरेलले २०८० माघ १ गते सोमबार पर्यटक उद्धारका नाममा नक्कली कागजात बनाएर भुक्तानी माग्ने ‘धन्दा’ शीर्षकमा सुवेदीको भण्डाफोर गरेका छन ।
प्रकाशित मिति : July 15, 2026 at 1:57 am





