ओलम्पियन कट्रिना वेभ, ओशियाना नेपाली स्पोर्ट्स मिटको सद्भावना दूत
एडिलेड — एडिलेडमा आयोजना हुन लागेको ‘७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट २०२७’ (7th Oceania Nepalese Sports Meet – ONSM SA 2027) को आधिकारिक सद्भावना दूतमा अष्ट्रेलियन प्यारालिम्पिक स्वर्ण पदक विजेता कट्रिना वेभ (Katrina Webb OAM) नियुक्त हुनुभएको छ।
२५ देखि २८ मार्च २०२७ मा हुने ओशिनिया क्षेत्रकै वृहत् नेपाली खेलकुद प्रतियोगिताको आयोजक कमिटीले साउथ अष्ट्रेलियाको पहिचान र नेपालसँग प्रगाढ सम्बन्ध रहेकी वेभलाई आफ्नो परिवारमा स्वागत गर्दै आधिकारिक सद्भावना दूत घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय मञ्चकी च्याम्पियन: नेपालसँग सामिप्यता
कट्रिना वेभ अष्ट्रेलियाली खेलकुद इतिहासकी एक प्रतिष्ठित नाम हुनुहुन्छ। तीनवटा प्यारालिम्पिक खेलहरूमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै स्वर्ण, रजत र कास्य पदक जितिसक्नुभएकी वेभ एक अन्तर्राष्ट्रिय नेतृत्व रणनीतिकार, फिजियोथेरापिस्ट तथा उत्प्रेरक वक्ता समेत हुनुहुन्छ। उहाँले ‘सेभेन नेटवर्क’ को रिपोर्टरका रूपमा टोकियो २०२० प्यारालिम्पिक खेलहरूको सफल कभरेज समेत गर्नुभएको थियो।
प्यारालिम्पिक च्याम्पियन वेभको नेपालसँग लामो समयदेखि व्यावसायिक र परोपकारी सम्बन्ध रहँदै आएको छ। उहाँले दुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर सम्मको पदयात्रा गरिसक्नुभएको छ। यसका साथै, उहाँले नियमित रूपमा ‘नेपाल लिडरसिप प्रोग्राम’ सञ्चालन गर्दै नेपालको अद्वितीय संस्कृति र भावनाको प्रवर्द्धन गर्ने तथा स्थानीय समुदायलाई सहयोग पुर्याउने कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ।
नेपालसँग गहिरो आत्मिक सम्बन्ध र सद्भाव राख्ने कट्रिना वेभ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय खेलाडी र प्रखर व्यक्तित्व ओशिनिया नेपाली स्पोर्ट्स मिटमा आबद्ध हुनुले प्रतियोगिताको गरिमा अझ बढेको ७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट २०२७ संयोजक बिजय जोशीले बताउनु भयो । उहाले अब य संचालन हुने सबै खेलका एक एक जना सद्भावना दुत नियुक्ति गर्ने समेत बताउनु भयो ।
जोशशीले प्रतियोगितालाई नेपाली समुदायमा मात्र सिमित नराखेर बृहत् अष्ट्रेलियामा रहेका सबै समुदाय सम्म जोड्नका लागि समेत दुतहरु तोकिन लागेको बताउनु भयो । उहाले प्रतियोगिताले नेपाली समुदायबीच एकता, खेलकुदको माध्यमबाट समावेशीकरण र उत्कृष्टता प्रदर्शन गर्न नयाँ ऊर्जा मिल्ने विश्वास लिएको समेत बताउनु भयो ।
ओशिनिया क्षेत्रमा रहेका नेपाली डायस्पोराका खेलाडीहरूको प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने यस खेलकुद महोत्सवको नारा “सांस्कृतिक सम्पदाद्वारा एकता, खेलकुदद्वारा प्रेरणा” (United by Heritage. Inspired by Sport.) रहेको छ ।
प्रकाशित मिति : July 11, 2026 at 11:18 am





