राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
२६ असार, काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ।
उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । एसपी भट्टराईलेका अनुसार बिहान साढे ११ बजे गणेशलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए ।
नेपालीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।
प्रकाशित मिति : July 10, 2026 at 12:21 pm





